नयाँ संसद् भवनकाे सुरक्षाबारे एआइजी कार्कीले गरे निरीक्षण

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाेखरीका प्रमुख एआइजी ईश्वर कार्कीले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनकाे निरीक्षण गरेका छन् ।

कार्यालयका डिआइजी ओेम अधिकारी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज अधिकारीसहित पुगेका एआइजी कार्कीले अस्थायी रूपमा तयार गरिएकाे बहुउद्देश्यीय हलकाे अवलोकन गर्दै सुरक्षा चुस्त बनाउन मातहतलाई निर्देशन दिएका हुन् । 

कार्कीले निर्माणाधीन भवनकाे सेन्ट्रल लबी, प्रतिनिधिसभाकाे निर्माणाधीन हलकाे पनि अवलाेकन गरेका थिए । 

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै एआइजी कार्कीले भवनकाे सुरक्षा, ट्राफिक व्यवस्था र भौतिक प्रगतिबारे जानकारी लिएकाे बताए ।

‘निर्माणाधीन छ । सुरक्षा व्यवस्था कसरी मिलाउने सन्दर्भमा हेरिएकाे हाे । केही कुराहरू व्यवस्थापन गर्नुपर्ने हुन्छ । सराेकारवालासँग बैठक गरेर हामी टुंग्याउँछौँ,’ उनले भने । 

फागुन २१ काे निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यका लागि १२ चैतमा बहुउद्देश्यीय हलमा अस्थायी रूपमा सपथ राखिएकाे छ ।

‘१२ गतेकाे शपथकाे तयारीका लागि सहरी विकासले तीव्र गतिमा काम गरिरहेकाे देखिन्छ ।  अझै काम गर्नुपर्ने देखिन्छ । द्रुत गतिमै काम गर्नुपर्ने काम देखिन्छ । सेक्युरिटी प्रस्पेक्टिभमा गर्नुपर्ने कुराहरूकाे सन्दर्भमा, ट्राफिक व्यवस्थापनकाे सन्दर्भमा मैले निरीक्षण गरेकाे हुँ,’ एआइजी कार्कीले भने । 

बानेश्वरकाे संसद् भवन जेन–जी आन्दोलनमा जलेकाे र निर्माणाधीन भवन सम्पन्न नभइसकेकाे अवस्थामा संसद् सचिवालयले भवनभित्रैकाे बहुउद्देश्यीय हललाई आकस्मिक रूपमा तयार गरी सांसदहरूकाे शपथ गराउन लागेकाे हाे ।
 

सुझावित समाचार