सप्तरीको सुरुंगा नगरपालिका– ३, लक्ष्मीपुरमा एक १४ वर्षीया असहाय दलित बालिका एक सातादेखि बेपत्ता भएपछि आफन्तले प्रहरीमा उजुरी दिएका छन् । सात महिनाकी गर्भवती रहेकी भनिएकी ती बालिकालाई स्थानीय महेश्वर यादवले बेपत्ता बनाएको आरोप छ । ती बालिकाका बाबुआमाको निधन भइसकेको छ । बालिकाकी भाउजूले उजुरी दिएकी हुन् ।
आफन्तका अनुसार उनी विगत १० वर्षदेखि स्थानीय महेश्वर यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन् । हाल उनी सात महिनाकी गर्भवती रहेको खुलेपछि ३० फागुनयता गाउँबाटै सम्पर्कविहीन बनाइएको आरोप छ । यो प्रकरणमा घरधनी महेश्वर यादव, उनका करिब २१ वर्षीय छोरा कुन्दन यादव, वडा सदस्य बद्री यादव र स्थानीय धर्मदेव यादवसहित चारजनामाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गर्दै गत बुधबार प्रहरीमा उजुरी दर्ता भएको हो ।
आफन्तका अनुसार गर्भावस्थाबारे जानकारी बाहिरिएपछि घरधनी पक्षको पहलमा गोप्य छलफल भएको थियो । त्यसक्रममा बालिकालाई अन्यत्र लगेर गर्भपतन गराइएको वा लुकाइएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । घरधनीले आफ्ना छोरालाई समेत अन्यत्र पठाएकाले लामो समयदेखि प्रलोभन वा दबाबमा यौन शोषण भएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीय एक आफन्तले भने, ‘गर्भ सात महिना पुगेको थाहा पाएपछि घटना दबाउने प्रयास भएको देखिन्छ । अहिले मुख्य प्रश्न बालिका कहाँ छिन् भन्ने हो ।’
आरोपित महेश्वर यादवसँग बुझ्न बिहीबार उनको घर पुग्दा उनी भेटिएनन् । घरमा रहेका आफन्तले उनको अवस्थाबारे आफूहरूलाई जानकारी नभएको बताएका छन् । वडासदस्यको मोबाइल पनि स्विचअफ गरिएको छ ।
घटनाप्रति स्थानीय जनप्रतिनिधिले पनि निष्पक्ष अनुसन्धानको माग गरेका छन् । सुरुंगा– ३ का वडाध्यक्ष किरणकुमार पोखरेलले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए । ‘निर्दोष फस्नु हुँदैन, दोषी उम्किनु हुँदैन । वडा कार्यालय अनुसन्धानमा सहयोग गर्न तयार छ,’ उनले भने । सुरुंगा– १ का वडाध्यक्ष छत्रबहादुर राउतले पनि बालिकाको अवस्था तत्काल सार्वजनिक गर्न माग गरे । ‘बालिका कहाँ छिन् भन्ने पत्ता लागेन भने म प्रहरी कार्यालयअगाडि धर्नामा बस्छु,’ उनले भने ।
प्रहरी भन्छ– अनुसन्धानकै क्रममा छ
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरीले घटनालाई गम्भीर रूपमा लिएर खोजी तथा अनुसन्धान सुरु गरिएको बताए । ‘बालिकालाई उनकी दिदीले लिएर गएको भन्ने सूचना छ ।
मातहतका युनिटले घटनाबारे बुझिरहेका छन् । प्रहरी टोली परिचालन गरिएको छ,’ पुरीले भने, ‘बालिकाका दुई दिदी पनि सम्पर्कमा छैनन्, उनीहरू सम्पर्कमा आएपछि बालिकाको अवस्था स्पष्ट हुन्छ । बालिका फेला परेपछि स्वास्थ्य परीक्षणमार्फत गर्भावस्था पुष्टि गरिने उनले बताए । त्यसपछि यौन शोषण वा जबर्जस्तीका कोणबाट थप अनुसन्धान अघि बढाइनेछ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी परेको थियो । तर, क्षेत्राधिकारअनुसार इलाका प्रहरी कार्यालय भेडिया रहेकाले त्यतै पठाइएको पुरीले बताए । इलाका प्रहरी कार्यालय भेडियाका प्रमुख, प्रहरी निरीक्षक पूर्णकुमार राईले मिडियासँग बोल्ने क्षेत्राधिकार जिल्ला प्रहरी प्रवक्ताको मात्र रहेको भन्दै पन्छिए ।