श्रीलंकाका राष्ट्रपतिले यस महिनाको सुरुमा दुई अमेरिकी लडाकु विमानलाई नागरिक विमानस्थलमा अवतरण गर्न संयुक्त राज्य अमेरिकाको अनुरोधलाई आफ्नो सरकारले अस्वीकार गरेको बताएका छन् । राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शुक्रबार श्रीलंकाको संसद्लाई बताएअनुसार वासिंटनले मार्च ४ देखि ८ सम्म दक्षिणी श्रीलंकाको मट्टाला राजपक्षे अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न अनुमति मागेको थियो । अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य आक्रमण सुरु गर्नुभन्दा दुई दिनअघि फेब्रुअरी २६ मा यो अनुरोध गरिएको थियो ।
‘तिनीहरू जिबुटीको एउटा बेसबाट आठ एन्टिसिप मिसाइलले सशस्त्र दुई युद्धविमान ल्याउन चाहन्थे,’ दिसानायकेले सांसदहरूलाई भने । ‘हामीले श्रीलंकाको तटस्थता कायम राख्ने अनुरोधलाई अस्वीकार गर्यौं,’ उनले भने । इरानमाथि अमेरिका–इजरायल युद्धले विश्वव्यापी रूपमा व्यापक चिन्ता फैलाएको छ, किनकि मध्यपूर्वमा इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणले ऊर्जाको मूल्य बढाएको छ र द्वन्द्व अन्य क्षेत्रमा विस्तार हुने डर बढाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि वासिंटनका सहयोगीलाई युद्धका लागि थप समर्थन देखाउन दबाब दिइरहेका छन् । हर्मुजको जलमार्गमा युद्धपोतमार्फत सहयोग गर्नका लागि गरेको अमेरिकी अनुरोधलाई अस्वीकार गरेपछि ट्रम्पले नेटो देशलाई कायर भनेर आलोचना गरिरहेका छन् । इरानले युद्धको बिचमा महŒवपूर्ण खाडी जलमार्ग अनिवार्य रूपमा बन्द गरेको छ, जसले गर्दा विश्वभरका नेतालाई आफ्नो अर्थतन्त्र र ऊर्जा आपूर्तिमा प्रभाव पारेको छ ।
श्रीलंकाका राष्ट्रपतिले यस महिनाको सुरुमा माटल्ला विमानस्थलमा दुई विमान अवतरण गर्न अमेरिकी अनुरोधलाई अस्वीकार गर्ने निर्णयमा आफ्नो देशको तटस्थता पनि उल्लेख गरे । सोही दिन फेब्रुअरी २६ मा इरानबाट श्रीलंकाको सद्भावना भ्रमण गर्न तीन नौसेना जहाजको अनुमतिका अनुरोध गरिएको पनि दिसानायकेले बताए । ‘हामीसामु दुईवटा अनुरोध भएकाले निर्णय स्पष्ट थियो,’ उनले भने । द्वन्द्व बढ्ने संकेत देखा पर्दै गर्दा कसैको पक्षधर हुनबाट बच्न सरकारले दुवै देशको अनुरोध अस्वीकार गरेको उनको भनाइ थियो । ‘यदि हामीले इरानलाई ‘हुन्छ’ भनेको भए, हामीले अमेरिकालाई पनि ‘हुन्छ’ भन्नुपर्ने थियो,’ दिसानायकेले थपे ।