छिट्टै नयाँ सरकार बन्दै छ । यो सरकार कस्तो बन्नुपर्छ ?
बन्दै गरेको नयाँ सरकार पछिल्लो निर्वाचनपछिको सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल बहुमतमा बन्दै छ । यो सरकारसित करिब–करिब दुईतिहाइ बहुमत हुनेछ । निर्वाचनबाट कतिपय भरोसायोग्य विषयविज्ञ पनि निर्वाचित भएका छन् । त्यस्ता विज्ञलाई उनीहरूको विज्ञतासमेत हेरी सम्बन्धित मन्त्रालयको जिम्मा दिन सकियो भने त्यो देशका लागि निकै गहन योगदान साबित हुन सक्छ । २०१३ मा टंकप्रसाद आचार्य नेतृत्वको सरकारले तयार गराएको प्रशासनिक सुधारसम्बन्धी सुझावदेखि पछिल्लो समयमा रामेश्वर खनाल नेतृत्वको समितिले दिएको सुझावसमेतलाई मध्यनजर गरी बढीमा १५ मन्त्रालय कायम राखी सरकार गठन भयो भने देशका लागि अर्को ठुलो योगदान हुनेछ ।
सरकारले प्रभावकारी डेलिभरी दिन के गर्नुपर्ला ?
यो सरकारसित करिब दुईतिहाइनिकट शक्ति छ । त्यसैले, अब बन्ने सरकार शक्तिशाली हुनेछ । सुशासन कायम गराउन, भ्रष्टाचार नियन्त्रण गर्न र सेवा प्रवाहलाई छिटो, छरितो र चुस्त बनाउन यसलाई कसैले छेक्न सक्दैन । हाम्रा राष्ट्रिय गौरवका आयोजना तथा पूर्वाधार निर्माणमा लामो समय लागिरहेको छ । अब बन्ने सरकारले त्यसलाई गति दिन सक्नुपर्छ । हाम्रो संसद् प्राय: कामविहीन देखिने गरेको छ । अबको सरकारले यसलाई काम दिएर गतिशील बनाउन सक्नुपर्छ ।
यो सरकारका सजिला र अप्ठ्यारा पक्ष के–के हुन् ?
यो सरकारसित दुईतिहाइनिकट बहुमत भएकाले चाहेअनुसार कानुन ल्याउन सजिलो छ । काम गर्ने जोस, जाँगर भएको उमेर समूहका विज्ञ संसद्मा पुगेका छन् । यो उसको सजिलो पक्ष हो । तर, त्यही संख्या नै पछि उसका लागि असहज अवस्था बन्न पनि सक्छ । २०१५ सालयता हरेक अवसरमा सम्बन्धित दलको संख्या नै उसका लागि चुनौती बन्दै आएको देखिन्छ । रास्वपाबाट संसद्मा पुगेका विविध पृष्ठभूमिका प्रतिनिधिबिच लय मिलाउन सक्दा राम्रो परिणाम आउन सक्छ । अन्यथा, यही संख्याले भद्रगोल अवस्था ल्याउन पनि सक्छ ।