गएरातिदेखि परेको अविरल वर्षाका कारण भेडेटार–रवि–राँके निर्माणाधीन सडक आज दिउँसोदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। साँगुरीगढी गाउँपालिका–६, थुम्कीस्थित सडकखण्डमा वर्षाका कारण सडकमाथिबाट पहिरो खसेपछि सडकको दुवैतर्फ आवतजावतमा अवरोध भएको प्रहरीले बताएको छ।
भेडेटारबाट डाँडाबजारतर्फ जाँदै गरेको मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का २२ वर्षीय योगेश गौतमले चलाएको को १ क ३३०९ नम्बरको खाली मिनी ट्रक पहिरोबिच भागमा फसेको पनि प्रहरीले बताएको छ। तर, गाडीचालक भने सकुशल रहेका छन् ।
मिनी ट्रक पहिरोको बिचमा भए पनि अहिलेसम्म कुनै क्षति नभएको, तर माथिबाट पहिरो लगातार गएका कारण गाडी निकाल्ने प्रयास भने सफल हुन सकेको छैन। सो सडकखण्ड सुक्खा पहिरोका कारण ६ दिन अवरोध भई केही दिनअगाडि मात्र सुचारु गरिएको थियो। निर्माणाधीन उक्त सडक वर्षात् सुरु भएसँगै पहिरोका कारण पटक–पटक अवरुद्ध हुने गरेको छ।