ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा पुनः हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रसहित फक्ताङलुङ गाउँपालिकाका याङ्मा, घुन्सा र ओलाङचुङगोला लगायत बस्तीहरु सेताम्य भएका छन् । योसँगै २०८२ सालमा जिल्लाको हिमाली क्षेत्रमा चौथोपटक हिमपात भएको भएपनि चैतमा भने पहिला भन्दा बाक्लो हिमपात भएको छ ।
मौसमको असामान्य उतार चढावबीच चैत्र महिनामै परेको हिमपात उत्तरी हिमाली बस्तीहरू हिउँले सेताम्मे बनेका छन् भने तल्लो तथा मध्य पहाडी भेगका खेतबारीमा लगाएको बाली सप्रने आसले कृषकहरु खुसि भएका छन् । पाथीभरा क्षेत्रसहित फक्ताङलुङ गाउँपालिकाका याङ्मा, घुन्सा र ओलाङचुङगोला लगायतका उच्च हिमाली क्षेत्रमा यस वर्ष २०८२ सालकै चौथोपटक हिमपात भएको हो । माघ र फागुनमा तीनपटक हिउँ परेपछि चैत्रमा पुनः हिमपात हुँदा चिसो अप्रत्याशित रूपमा बढेको स्थानीय बताउँछन् । सामान्यतः वसन्त ऋतु सुरु हुने समयमै हिउँ परेपछि मौसम नै फेरिएको अनुभूति स्थानीयले गरेका छन् ।
हिमपातसँगै परेको वर्षाले जिल्लाको तल्लो र मध्य भेगका किसानलाई भने ठूलो राहत दिएको छ । लामो समयदेखि पानी नपर्दा सुक्खा भएको ‘खोल्सिको कालो सुन’ भनेर चिनिने अलैची बालीमा ठुलो राहत मिलेको छ। किसानहरूका अनुसार पानीपछि बोटहरू पुनर्जीवित हुन थालेका छन्। जसले उत्पादन बढ्ने आशा जगाएको छ । फुङलिङ नगरपालिका–६ का कृषक हर्क गुरुङले ‘अलैची बगान सुक्ने डर थियो, पानी परेपछि अलैचीमा राहत मिलेको, अब उत्पादन राम्रो हुने अपेक्षा गरेको बताउछन् । कृषि प्राविधिकहरू पनि यो वर्षा अलैचीका लागि निर्णायक सावित हुन सक्ने बताउँछन्।
चिस्यानको अभाव झेलिरहेको बालीमा पर्याप्त पानी पुगेपछि उत्पादन सुधार हुने सम्भावना बढेको उनको भनाइ छ। अलैचीसँगै मकै, गहुँ, तोरी तथा तरकारी बालीमा समेत राहत भएको स्थानीयको भनाइ छ। लामो खडेरीका कारण सुख्खा बनेको जमिनमा पानी परेपछि बीउ उम्रने दर बढ्ने, बोट मजबुत हुने र उत्पादनमा सुधार आउने अपेक्षा गरिएको छ । किसानहरू लामो समयपछि राहतको महसुस गर्दै आगामी उत्पादनप्रति आशावादी बनेका छन्। यद्यपि, चैत्रमै हिमपात हुनु सामान्य नभएको बताइन्छ । पछिल्ला वर्षहरूमा मौसमको ढाँचा अनियमित बन्दै गएको र जलवायु परिवर्तनको संकेतका रूपमा समेत हेरिएको छ। असामयिक वर्षा र हिमपातले तत्काल कृषिमा फाइदा पुर्याए पनि दीर्घकालीन रूपमा मौसमको अनिश्चितता बढाउने जोखिम रहेका बताइन्छ।
ताप्लेजुङको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको अलैची खेती पछिल्ला वर्षहरूमा रोग, सुख्खा र बजार मूल्यको अस्थिरताका कारण संकटमा परेको थियो । यस्तो अवस्थामा परेको वर्षाले उत्पादन बढ्ने आशा पुनर्जीवित गरेको छ । यदि आगामी दिनमा मौसम अनुकूल रह्यो भने यस वर्ष अलैची उत्पादनमा उल्लेख्य सुधार आउने अनुमान गरिएको छ । जसले जिल्लाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्छ । प्रकृतिको यही विरोधा भासबीच ताप्लेजुङ चैत्रमै परेको चौथो हिमपातले एकातिर हिमाली जीवनमा केही कठिनाइ भएको छ भने अर्कोतिर किसानका लागि आशाको पलाएको छ ।