ल फर्मको विस्फोटमा संलग्नताको आशंकामा एक पक्राउ

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

सिराहाको जिल्ला सदरमुकाम सिराहास्थित ल फर्ममा ११ दिनअघि भएको विस्फोटको घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ परेका छन्। जिल्ला अदालत बार एसोसिएसनको कार्यालय रहेको भवनको सटरमा अधिवक्ता मधुसुदनप्रसाद यादवले चलाइरहेको ल फर्ममा गत २७ फागुनमा भएको विस्फोटको घटनामा संलग्नता रहेको आशंकामा एक लेखापढी व्यवसायीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको सिराहा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा एकजना लेखापढी व्यवसायीलाई चार दिनअघि पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिए, तर नाम भने खुलाएनन्। 

‘विस्फोटको घटनामा संलग्नता रहेका केही प्रमाणहरू भेटिएपछि पक्राउ गरिएको हो,’ उनले भने, ‘प्रहरीको अनुसन्धानमा भेटिएका केही प्रमाणहरू परीक्षणका लागि पठाइएको छ, त्यसको प्रतिवेदन आएपछि संलग्नता रहेछ भने सार्वजनिक गर्छौँ।’ विस्फोटमा ल फर्मममा काम गर्ने सिराहा नगरपालिका- १ घर भएका सौरभ यादवको हातको औँला र खुट्टामा सामान्य चोट लागेर घाइते भएका थिए। विस्फोटमा ल फर्ममा रहेका कम्प्युटर, फर्निचरलगायतका सामग्रीमा पनि क्षति पुगेको थियो। 

See More On

सुझावित समाचार