बर्दियाको गुलरियामा जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि सरोकारवाला निकायसँग अन्तरसंवाद गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जातीय भेदभाव तथा छुवाछूतविरुद्धको कार्यक्रम मनाइरहँदा जिल्लामा सरकारी, गैरसरकारी निकाय कहाँ कति विभेद त्यो विवरण आएको भए त्यसलाई सुधार गर्न मदत मिल्ने बताए। उनले भने, 'विगत दिनमा भन्दा अहिले भेदभाव घटना निकै कम भएको छ। अझै यसलाई कम गर्न समाजको सबै निकाय लाग्नुपर्छ। जातीय विभेद अन्त्य गर्न व्यक्तिको सोचाइ र व्यवहार परिवर्तन हुन आवश्यक छ।'
गुलरिया नगरपालिकाको उपप्रमुख साबित्रा गौतमले जातीय भेदभाव अझैँ पनि हुन सक्ने बताइन्। उनले भने, 'गाउँघरमा गएर समुदाय सचेत बनाउन आवश्यक रहेको छ। यस्ता कार्यक्रम सहरभन्दा गाउँघरमा गर्न जरुरी रहेको छ। पालिकाले पनि यस्ता खालको कार्यक्रम गर्दै आएको छ।
जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, नागरिक समाज, अधिवक्ता र पत्रकारलगायत सरोकारवाला निकायसँग अन्तरसंवाद गरिएको दलित महिला संघकी हिमा सुनारले बताइन्।
उनले भनिन्, 'दलित समुदायको न्यायमा पहुँचका राज्य संरचनाको प्रभावकारी परिचालन हुनुपर्छ भन्ने राष्ट्रिय नारा रहेको छ, त्यो नारालाई पूर्ण रूपमा कार्यान्वयन हुन जरुरी छ भने दलित समुदायले वर्षौंदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत अन्त्य हुनुपर्छ भन्ने हो। जातको आधार कोरिएको विभाजन रेखा मेट्नुपर्छ।'
पत्रकार मंहासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले समाजमा हुने हरेक प्रकारको विभेदको पत्रकारले कलम चलाउँदै आएको बताए। उनले भने, 'पत्रकारले कलम चलाउँदा समाजमा हुने हरेक गतिविधि नजिकबाट नियालेर तटस्थ भएर कलम चलाउँदै आएका छन्।'
बर्दिया जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष खडानन्द तिवारी जातको आधारमा कसैले भेदभाव नहुने कानुनी व्यवस्था भएको बताए। उनले भने, 'कानुनले जातको आधारमा विभेद गरेको छैन। कानुनको दृष्टिकोणमा सबै नागरिक समाज हुन्। जातको आधारमा भेदभाव भएका कानुनबमोजिम कारबाही हुन्छ।'
अन्तरसंवाद कार्यालय दलित महिला संघ र बर्दिया जिल्ला अदालत बार एसोसिएसनको आयोजना गरिएको थियो।