इस्लाम धर्मावलम्बीहरूले आज ईद–उल–फित्र मनाउँदै छन्। पवित्र रमजान महिनाभर रोजा (उपवास) बसेपछि चन्द्रमा देखिएसँगै ईदको पर्व मनाउने परम्परा रहेको छ। नेपालमा पनि मुस्लिम समुदायले उल्लासका साथ ईद मनाएका छन्। राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा मस्जिदहरूमा विशेष नमाज अदा गरिएको छ। काठमाडौंमा बिहानैदेखि मस्जिदहरूमा श्रद्धालुहरूको भीड लागेको छ। नमाजपछि एकअर्कालाई अँगालो हाल्दै शुभकामना आदानप्रदान गरिएको छ भने बालबालिकादेखि वृद्धसम्म नयाँ लुगा लगाएर उत्सवमा सहभागी भएका छन्। यसरी ईद पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश फैलाउने विश्वास गरिन्छ।








