ट्याटु अर्थात् पुर्खाको निसानी

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण
  • ट्याटु खोप्दा मसीमा आमाको दुध पनि मिसाइन्थ्यो । यसको अर्थ अर्को जुनीमा यही आमाको कोखबाट जन्मिन पाऊँ भन्ने हो ।

ट्याटु छालामा सियोमार्फत मसी हालेर बनाइने आकृति वा अक्षर हो । फेसनका रूपमा फस्टाइरहेको ट्याटु थारू समुदायमा भने दशकौँ पहिलादेखि प्रचलनमा थियो । थारू समुदायमा यसलाई टीका छेड्नाको रूपमा चिनिन्छ । टीकाको अर्थ मार्क वा डट र छेड्नाको अर्थ छेड्नु हो । टीका छेड्नालाई विभिन्न नाम दिइएको छ । टीका छेड्ना (पश्चिम तराई–दाङदेखि कञ्चनपुरका डंगाहा थारू र देउखुरिया थारू)को रूपमा प्रचलित छ । लीला (लीला छेडन वा लिगा गोदन–राना थारू र कठरिया थारू)मा र खोदना/गोदना (दाङदेखि पूर्वका थारू)मा प्रचलित रहेको पाइन्छ ।

सियो, धागो, दियो, हुक्का, तोरीको तेल, बेसारलगायत सामग्रीबाट टीका छेड्ना बनाइन्छ । हामीसम्म यो कला हस्तान्तरण हुन निकै कठिन भयो । मेरी आमा र हजुरआमासँग यो सिप थियो । मसम्म आइपुग्दा खोप्ने र खोपाउने दुवै रोकियो । तर, बिस्तारै मेरो पुस्ताले यसलाई ब्युँताउन सफल भएको छ ।

थारू समुदायमा टीका छेड्ना कहिलेदेखि सुरु भयो ? यकिन छैन । तर, मैले अध्ययन गरेअनुसार यो प्रचलन सयौँ वर्ष पुरानो छ । अनुसन्धानका क्रममा मैले ९० वर्षको हजुरआमासँग कुरा गर्दा उनीहरूले पनि आफ्नो हजुरआमासँग सिकेको सुनाउँछन् । 

यसकारण टीका छेड्ना 
टीका छेड्नुको अनेक कारण छन् । यही नै सत्य हो भन्ने छैन । धेरैले भन्छन्, हामी मरेपछि लैजाने ट्याटु मात्र हो । थारू समुदायमा हामी मरेपछि ‘भवन्वन घर’ अर्थात् भगवान्को घर जान्छौँ भन्ने मान्यता छ । स्वर्ग/नर्कको भने भाष्य छैन । तर, हिन्दु धर्मको प्रभावका कारण कतिपयले स्वर्ग र नर्क पनि भन्ने गरेका छन् । मरेपछि भगवान्को घर जान्छौँ । त्यो घर धेरै टाढा होला ! त्यो घर जाँदै गर्दा थाक्छौ होला ! त्यो भगवान्को घर कसरी जाने ? यसैको सिलसिलामा धेरै आकृति बनेको देखिन्छ । जस्तै– घोडा चढेर जाने भन्ने लागेर हुन सक्छ घोडाको आकृति बन्यो । जाँदाजाँदै थकाइ लाग्दा कहाँ बस्ने ? त्यसैले मचिया अर्थात् खटिया बनेका छन् । भोक लाग्छ । त्यसकारण चुल्होको आकृति बन्यो । तरकारीको रूपमा प्रयोग गरिने आलु, भन्टाको आकृति बन्यो । हाम्रो दैनिक जीवनमा प्रयोग हुने विभिन्न आकृति बन्यो ।

दाङ र देउखुरी उपत्यकाका थारूको भाषा, संस्कृति र टीका छेड्ना बनाउने तरिका फरक–फरक छ । दाङका महिलामा टीका छेड्ना माइतीको उपहारको रूपमा बनाइन्छ । त्यहाँका छोरीले विवाह गर्ने वेला वा विवाह भएपछि टीका छेड्ना बनाउँछन् । त्यो छोरीले टीका छेड्ना बनाएपछि बनाउने व्यक्तिलाई टिकिनिहा अर्थात् पैसा तिर्नुपर्यो । अनुसन्धानका क्रममा मैले एक–दुई रुपैयाँसम्म तिरेको भेटेँ । त्यसबाहेक चामल, अन्डा, रक्सी दिएको भेटेँ । छोरीले त्यो आकृति बनाए पनि त्यो पैसा र सामग्री माइतीले तिर्छन् । देउखुरिया महिलाहरूमा भने सखीसखी अर्थात् साथी–साथीबिच एकले अर्कोलाई खोपाउने चलन छ । 

यो कुरा मैले हजुरआमाबाट सुनेपछि छोरीको माइतीसँग सम्बन्ध, आत्मीयता, माइतीको उपहार शरीरमै बोकिरहेको हुने रहेछन् भन्ने जानकारी पाएँ । कतिपय हजुरआमाका अनुसार विवाहपछि महिलाहरू कताकता पुग्छन् । सखी अर्थात् साथी सम्झने माध्यम टीका छेड्ना बन्छ । यो बनाउने अर्को कारण हिलिङ अर्थात् उपचार पद्धति पनि हो । हजुरआमाहरूका अनुसार पहिला खुट्टा धेरै दुख्थ्यो । यो बनाएपछि दुख्न छोड्यो । 

पहिले ट्याटु खोप्दा मसीमा आमाको दुध पनि मिसाइन्थ्यो । यसको अर्थ अर्को जुनीमा यही आमाको कोखबाट जन्मिन पाऊँ भन्ने हो । टीका छेड्ना माया दर्साउने तरिका पनि हो । कतिपय हजुरआमाले नयाँ बुट्टा डिजाइन गर्नुभन्दा आफ्ना आमा, दिदी, हजुरआमाले बनाएका आकृति नै धारण गर्ने गरेका छन् । यसले मौलिकपनको निरन्तरतालाई कायम राखेको छ । थारू समुदायमा सबैले बनाउने बुट्टा वा आकृति एकै किसिमको हुन्छ । शरीरको ठाउँ भने फरक हुन सक्छ । यो महिलाले महिलाको लागि मात्र बनाउँछन् । छोरीहरूले १० देखि २० वर्षको उमेरमा खोपिसक्छन् ।

ओझेल पर्नुको कारण 
टीका छेड्ना मेरो आमाको हातखुट्टामा छ । मैले उहाँको शरीरको त्यो आकृति धेरै लामो समयपछि मात्र देखेँ । गाउँबाट पढ्न हामी धनगढी बजार आयौँ । यहाँ आउनेबित्तिकै यही आकृतिकै कारण मेरी आमाले हेपाइ सहनुपर्यो । के बनाएको ? किन राम्रो शरीर बिगारेको ? त्यसपछि मेरो आमाले पूरा बाहुला भएको लुगा लगाउन थालिन् । त्यो हेपाइको कारण हामीलाई कहिल्यै भनिनन् । मेरो पालादेखि हामी विद्यालय जान थाल्यौँ । विद्यालयको अनुशासनमा बस्नुपर्यो । ड्रेस कोड झेल्नुपर्यो । टीका छेड्ना बनाएर जान सक्ने अवस्था रहेन । एकल सांस्कृतिक प्रभुत्वका कारण हामीमाझ यो बिस्तारै ओझेल पर्यो । हाम्रो कलालाई कला नै मानिएन ।

राज्यका नीति, आधुनिकताको दबाब, भेदभाव र लाजको भावनाले पुस्तान्तरण रोकियो । यही कारण कतिपय अवस्थामा परिवारका सदस्य नै टीका छेड्नाका लागि बाधक भए । टीका छेड्नाकै कारण उनीहरूमा अपराधबोध हुने अवस्था आयो । 

यो संस्कृति जोगाउनु आवश्यक छ । पुस्तान्तरण हुनु आवश्यक पनि छ । त्यसैले, मैले एक वर्ष लगाएर टीका छेड्ना सिकेँ । मैले बनाउन सिकेपछि हजुरआमालाई सुनाएँ । त्यसपछि उहाँको प्रतिक्रिया थियो, ‘तिमीले पुर्खालाई बोक्यौ । मलाई गौरवको महसुस भयो ।’ हामीमाझ पुर्खा छैनन् । तर, ती पुर्खा ट्याटुको रूपमा हामीमाझ रहेका छन् । हामीले पुर्खा बोकिरहेका छौँ । 

कतिपयले यसलाई सुन्दरतासँग जोडेर मात्र हेर्छन् । कतिपय हजुरआमाले राम्री हुने रहर लागेकोले बनाएको भन्छन् । तर, उहाँहरूसँग लामो कुरा गर्दा आमा, साथी र पुर्खासँगको सम्बन्धबारे पछि मात्र कुरा आउँछ । अहिले ट्याटु फेसनको रूपमा खोप्ने चलन छ । टीका छेड्नाको महत्व थाहा नभएर होला धेरैले अनेकौँ आकृति बनाइरहेका छन् ।

अहिले थारू ट्याटु भनेर प्रचारप्रसार गरेपछि धेरैले मलाई पनि बनाइदिनुपर्यो भनेर आइरहेका छन् । हामीले टीका छेड्ना कन्भेसन पनि गर्यौँ । पाँच जिल्लाबाट १२ जना हजुरआमाबाट तीन दिनमा मसी बनाउनेदेखि छेड्नेसम्मको अभ्यास गर्यौँ । टीका छेड्नमा हातले छेड्ने र मेसिनको प्रयोग दुवै हुने गरेको छ । पहिलेकोजस्तो सुविधा नभएकाले अहिले बजारको मसी प्रयोग गरेर काम गरिरहेको छु । 

७० को दशकमा हिँडिरहेका महिलापछि यो कला सकिने अवस्थामा पुगेको थियो । तर, अब यसबारे चर्चा बढिसकेको छ । धेरै नयाँ साथीहरू हामीलाई पनि बनाइदिनु भनेर आइरहेका छन् । धेरैले यसमा रुचि पनि देखाइरहेका छन् । यसको महत्व खोजिरहेका छन् । बुझिरहेका छन् । आदिवासीको पहिचान, इतिहास जोगाऔँ भन्ने धेरै बहस, छलफल भए । त्यसले पनि टीका छेड्ना कला ब्युँताउन सहयोग मिलेको छ । मैले अहिले आदिवासी ट्याटु मात्र खोप्ने विचार गरेको छु । कसैले मलाई फूल बनाइदेऊ भन्छन् भने बनाउँदिनँ । ४० वर्षदेखि रोकिएको कुरा हामीले बुझेर गर्न थाल्यौँ । नयाँ पुस्ताले बु्झ्नेबित्तिकै अर्को पुस्तामा हस्तान्तरण हुन्छ । 

(अध्येता थारूसँग शान्ति तामाङले गरेको कुराकानीमा आधारित)

See More On

सुझावित समाचार