जात व्यवस्थाको अन्त्य : अन्तर्जातीय विवाह र बुद्ध धम्म मार्ग

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

जात व्यवस्था के हो र यो अझैसम्म के आधारमा टिकिरहेको छ ? आजको युगमा अधिकतम शिक्षित, सभ्य नागरिक जातका आधारमा गरिने विभेद, छुवाछुत प्रथाको विरोध गरिरहेका हुन्छन्, देखिन्छन् । चुनावमा भोट माग्न दलित बस्तीमा पुग्ने उम्मेदवार वा कुनै दलको संगठन खडा गर्न गाउँबस्ती पसेका राजनीतिक कार्यकर्ता बिरलै होलान्, जसले विभेदमुक्त समाज बनाउने आश्वासन नबाँडेका होउन् । चुनावताका तयार पारिने घोषणापत्रमा जातीय विभेद छुवाछुत अन्त्यको वाचा नगर्ने, दलितका मुद्दा र सरोकार नसमेट्ने कुनै राजनीतिक दल नै छैनन् भन्दा अत्युक्ति नहोला । लाग्छ, मार्क्स–लेनिन–माओवादी सिद्धान्त, विचार मान्नेदेखि लोकतन्त्रवादी तथा कथित ‘पृथ्वीपथ’ भन्नेहरूसम्म सबै दलित मुक्ति गरी समानता ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् । राजनीतिज्ञ, प्राध्यापक, शिक्षक, समाजसेवी, पत्रकार, निजामती कर्मचारी, बुद्धिजीवी, सामाजिक अभियन्ता र अगुवा आदि सबै जात व्यवस्थाको विरोधमा वा विपक्षमा नै देखिन्छन् । त्यति मात्रै किन, ब्राह्मण धर्मका यथेष्ट आधारलाई एकै छिन् बिर्सिएर महाविद्वान्का झुटलाई नै सही मान्दा, धार्मिक गुरु, पण्डित, पुरोहित, ब्राह्मणहरू छुवाछुत प्रथाको विरोध र विपक्षमा देखिन्छन् । के यी सारा मानिस मूर्ख हुन् ? या जातीय विभेद तथा छुवाछुत प्रथालाई मानवताविरोधी कलंक, असभ्यता र कानुनत: दण्डनीय अपराध घोषित गरी व्यवहारमा त्याग्न नसक्ने धोकेबाज, बेसरम र स्वार्थी हुन् ?

यस्तो कसैलाई मन नपरेको, धेरैले न्यायसंगत छैन भनी बुझेका मात्रै होइन, मुलुकको संविधान, कानुनद्वारा दण्डनीय अपराध घोषित जातीय विभेद तथा छुवाछुत प्रथा टिकेको, बाँचेको चाहिँ कसरी होला ? यसका विरुद्ध बहुमत, बहुसंख्यक मानिस लागिपरेको अवस्थामा यो मानवीय कलंक उहिल्यै लोप भइसक्नुपर्ने होइन र ? तर विडम्बना, जात व्यवस्था र छुवाछुत प्रथा अद्यापि दीर्घजीवी र ताकतवर हैसियतमा उपस्थित र जीवित छ । यस्तो अवस्था किन छ ? आखिर जात व्यवस्था र छुवाछुत प्रथा बचाइराख्ने, जोगाउने र संवद्र्धन गर्ने को हो ? यी सवाल नि:सन्देह नै महत्वपूर्ण छन् ।

जात व्यवस्था के हो ?
भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि प्राय: सबै राजनीतिक दलले प्रतिज्ञापत्र वा घोषणापत्र सार्वजनिक गरे । जसमध्ये नेपाली कम्युनिस्ट पार्टीले अन्तर्जातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्ने विषय समेटेको थियो, छ । हुन त ०६६/६७ साल ताका एमाले नेता सुरेन्द्र पाण्डे अर्थमन्त्री भएका बखत अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्न बजेट नै छुट्याएका थिए । तथापि, यसपटक नेकपाले यससम्बन्धी व्यवस्था घोषणापत्रमा गरेपछि एकजना आदिवासी जनजाति समुदायका जानेमाने समाजशास्त्री तथा अभियन्ताले उक्त प्रावधानप्रति सामाजिक मिडियामा नकारात्मक टिप्पणी गरे । उनको बुझाइअनुसार अन्तर्जातीय विवाहलाई घोषणापत्र वा राजनीतिक अजेन्डा बनाएर नै प्रोत्साहित गर्नु उपयुक्त छैन, वा यो आवश्यक विषय नै होइन । अनि जात व्यवस्थाको अन्त्य कसरी सम्भव होला त ? यस सम्बन्धमा लेख्न पंक्तिकारलाई उत्पे्ररित गर्यो । अत: यो आलेख उनै विद्वान्को टिप्पणीप्रति समर्पित गर्नु उपयुक्त हुने ठान्दछु ।

मानिस जातपात किन मान्छन् ? यस प्रश्नको जवाफ दिँदै अम्बेडकर भन्छन्, ‘हिन्दु समुदाय जातपात यसकारण मान्दछन्, किनकि उनीहरू धार्मिक व्यक्ति हुन् । जो जात व्यवस्था मान्छन्, उनीहरू गलत होइनन्, बरु उनीहरूको धर्म, उनका धर्मग्रन्थ, शास्त्र गलत छन्, जसले उनका दिमागमा जातिवादले भरिदिएका छन् । जबसम्म धर्मग्रन्थ (शास्त्र)लाई प्रामाणिक, अभ्रान्त तथा ईश्वरद्वारा रचित वा पे्रषित भएका पवित्र छन् भन्ने भ्रमबाट मुक्त गरिँदैन, ती ग्रन्थप्रति मानिसका श्रद्धा समाप्त हुँदैन । जब ती नियमप्रति मानिसका आचरण आधारित छ, तबसम्म उनीहरूका आचरण बदलिँदैन ।’ 

प्राचीनकालमा आफ्नो कथित जातीय उच्चता तथा रक्त शुद्धता कायम राख्न ब्राह्मणहरूले स्वजातीय विवाहको कठोर नियम लागू गरे, जो अझै निरन्तर छ । ब्राह्मणहरू पनि पाँच भागमा विभक्त छन् । जस्तै– सारस्वत, कान्याकुब्ज, गौड, मैथिल र उत्काल । उपाध्याय ब्राह्मण आफूलाई सबैभन्दा उच्च ठान्छन् । मनुस्मृतिमा भनिएको छ, 
एक देशे तु वेदस्य वेदान्यापि धा पुन: ।
योद्रध्यापयति वृत्यर्थमुपाध्याय: स उच्यते ।।
                —(मनुस्मृति २/१४१)

अर्थात्, मनुस्मृतिका अनुसार वृत्तिका लागि जसले वेदको कुनै अंश वा वेदाङ्ग पढाउँछ, त्यो उपाध्याय कहलाउँछ । यस हिसावले उपाध्याय वा जैसीबिच भेद छुट्याउने ठोस आधार भेटिँदैन । किनकि, भेद पढ्ने वा वेदाङ्गको अधिकार ब्राह्मणबाहेक क्षेत्री (दुई वर्ण) सम्मलाई मात्रै थियो । 

उपाध्याय ब्राह्मणमा कुनै सजातीय स्त्रीको जारी विवाह, पुनर्विवाह वा विधवा विवाह स्वीकृत छैन, बरु कडा रूपमा वर्जित छ । त्यस्तो भयो भने त्यसबाट जन्मेको बालक उपाध्याय नभएर जैसी हुन जान्छ । तर, जैसी समाजमा त्यस्तो भएमा त्यसको जातक जैसी नै हुन्छ । अर्थात्, जैसी समाजमा सजातीय स्त्रीसँग जारी विवाह वा विधवा विवाह पनि स्वीकृत छ । अथर्ववेदका अनुसार ब्राह्मण पत्नीहरू पनि क्षत्रीय अर्थात् राजाबाट सुरक्षित थिएनन् । यति हुँदाहुँदै पनि वर्ण व्यवस्थाको मर्यादामा कुनै पनि कमी आएन ।

मनुका अनुसार वर्जित (अन्तर्जातीय) विवाह वा सगोत्री विवाह गर्नाले र वर्ण व्यवस्था उल्लंघन गर्नाले वर्णशंकरको उत्पत्ति हुन्छ । महाभारत अनुशासन पर्वअनुसार धन, लोभ, काम र वर्ण कर्तव्यको अज्ञानताले पनि वर्णशंकर उत्पन्न हुने कुरा उल्लेख छ । गीताका अनुसार स्त्री जाति व्यभिचारिणी भएपछि पनि वर्णशंकर हुन्छ । महाभारतको वनपर्वमा युधिष्ठिरले वर्णशंकरत्वलाई कडा शब्दमा निन्दा गरेका छन् ।

चातुर्वण्र्य (ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र) का वर्ण (रंग) अनुसारका तिलक, प्रतीक र वासस्थानको व्यवस्था गर्ने प्राचीन व्यवस्था सुरु भएको थियो । नाट्यशास्त्रको 
प्रमाण भन्छ– 
प्रथमे ब्राह्मणस्तम्भे, सर्वशुक्लो विधि: ५१
ततश्च क्षत्रियस्तम्भे, सर्व रत्तम, ५२
वैश्यस्तम्भे विधि: दिग्भागे पश्चिमोत्तरे, सर्वपीतम्, ५३
शूद्रस्तम्भे विधि: पूर्वाेत्तराश्रये, नीलप्रायम् ५४
            (नाट्यशास्त्रम्, अ. २)

अर्थात्, पहिले ब्राह्मणका लागि स्तम्भ बनाइयोस्, जो सफेद (सेतो) रङको हुन्छ, फेरि क्षत्रीय वर्णका लागि लाल (रातो) रङको स्तम्भ बनाइयोस् । तत्पश्चात् पश्चिमोत्तर दिशामा वैश्यका लागि पहेंलो रङको तथा पूर्वाेत्तर दिशामा शूद्रका लागि निलो रङका स्तम्भ बनाइयोस् । यसरी यी विभिन्न रङ (वर्ण) का स्तम्भ विभिन्न वर्णका मानिस बस्नका लागि नाट्यशालामा खडा रहन्थे । यही थियो, वर्ण व्यवस्था, जसमा चारै वर्णका लागि भिन्नभिन्न वर्ण (रङ) निश्चित थियो ।

जात व्यवस्थाको अन्त्य
जात व्यवस्था अन्त्यका लागि सांस्कृतिक क्रान्ति अनिवार्य छ । बरु वर्गसंघर्ष वा वर्गसंघर्षद्वारा ल्याइने समाजवादी व्यवस्थासँग जात व्यवस्था अन्त्यको कुनै सम्बन्ध छैन । हाम्रै आवश्यकता अधिसंरचना (सुपर स्ट्रक्चर) जसमा धर्म, धर्म विधि, रीतिरिवाज, परम्परा, मिथक, अन्धविश्वास तथा न्याय आदि पर्छन् र त्यसलाई बदल्नु हो । जो मार्क्स–लेनिन–माओवादीले भन्ने गरेको समाजवादी आर्थिक उत्पादन–प्रणालीसँग सम्बन्धित कैयौँ क्रान्तिका बाबजुद जस्ताको त्यस्तै चल्दै आइरहेका छन् । अधिसंरचना (सुपर स्ट्रक्चर) भन्नाले मार्क्सवादी समाजशास्त्रमा आर्थिक आधार (उत्पादनका साधन र सम्बन्ध) माथि बनेको समाजको सांस्कृतिक, राजनीतिक र वैचारिक व्यवस्था हो । जसमा धर्म, कानुन, दर्शन, साहित्य, राजनीति र राज्यव्यवस्था आदि पर्छन् । जसले आर्थिक आधारलाई कायम राख्न वा परिवर्तन गर्न भूमिका खेल्छन् । जात व्यवस्था आर्थिक उत्पादन प्रणालीसँग कहिल्यै सम्बन्धित थिएन र छैन । यदि हुँदो हो त, गुलामी युगका विरुद्ध गरिएको क्रान्ति, सामन्तवादी युगको विरुद्ध उठेका क्रान्तिले समाप्त गर्नुपर्थ्यो । तथापि, यस्तो भएन । कारण हो, आर्थिक उत्पादन प्रणालीसँग जात व्यवस्थाको कुनै वास्ता र सम्बन्ध छैन ।

केही व्यक्ति पुँजीवादविरुद्ध गरिने वर्गसंघर्षद्वारा स्थापित हुने क्रान्तिको परिणामस्वरूप मात्रै जात व्यवस्था नष्ट हुन्छ भन्ने भ्रममा विश्वास गर्छन् । त्यसका सम्भवत: मुख्य तीन कारण हुन सक्छन्, एक– मार्क्सवादलाई ठिक ढंगले बुझ्न नसक्नु । दुई– जानेर बुझेर पनि मानिसलाई भ्रममा पार्न झुट बोल्नु र तीन–आफ्ना समर्थक वा अनुयायीको भिड बढाउन शब्दजाल देखाइरहनु आदि ।

यो सत्यलाई पुष्टि गर्ने एंगेल्सका ऐतिहासिक पत्रको सारसंक्षेप यहाँ प्रस्तुत छ । सन् १८८३ मा कार्लमार्क्सको मृत्युपश्चात् उनका सहकर्मी एंगेल्सले सन् १८९० मे २१ मा जोसेफ ब्लखलाई एक पत्र लेखेका थिए । उक्त पत्रमा एंगेल्स भन्छन्, ‘इतिहासको भौतिकवादी धारणाअनुसार इतिहासमा अन्तिम निर्णायक कारक हो, उत्पादन तथा असली जीवनका पुनरुत्पादन । यसभन्दा बढी कुनै कुरा न मार्क्सले बताए, न मैले । यदि कसैले यसलाई भ्रमित गरेर आर्थिक कारक नै एक मात्रै निर्णायक कारक हो भन्छ भने सम्झनुस्, ऊ हाम्र्रै कथनलाई निरर्थक, उडन्ते एवं वाहियात बनाएर पेस गर्दै छ ।’ हरेक कुरा वर्गसंघर्ष तथा अर्थव्यवस्थासँग जोड्ने प्रवृत्ति दोषपूर्ण मान्दै यसका लागि खुद एंगेल्स आफैँ र मार्क्सलाई दोषी स्वीकार गर्छन् । त्यस्तो हुनाका कारण यसरी बताउँछन्, ‘यस तथ्यका लागि म र मार्क्स अंशत: दोषी छौँ कि युवा जमात कहिलेकाहीँ आर्थिक पक्षमा जरुरतभन्दा ज्यादा जोर दिने गर्छन् । हामीले आफ्नो मूल सिद्धान्त (आर्थिक पक्ष) माथि हाम्रा ती विरोधीमाथि ध्यानमा राखेर जोड दिनुपर्यो, जो यो मूल सिद्धान्तलाई निषेध गर्दै थिए । हामीसँग सधैँ पर्याप्त समय, उपयुक्त स्थान तथा पर्याप्त अवसर पनि हुँदैनथ्यो । उक्त अभावका कारण हामीले ती अन्य तत्वको जरुरत हुँदाहुँदै थप व्याख्या गर्न सकेनौँ ।’ 

एंगेल्सको यस पत्रले सिद्ध गर्छ कि वर्गसंघर्ष तथा अर्थव्यवस्थाका दृष्टिबाट मात्रै बहुत सारा चिजको व्याख्या गर्न सकिँदैन । पहिलो, अधिसंरचना (सुपर स्ट्रक्चर) मा सारा चिज सामेल छन्, जो अर्थव्यवस्था, वर्गसंघर्ष समान नै महत्वपूर्ण छन् । दोस्रो, हरेक कुरामा वर्गसंघर्ष तथा अर्थव्यवस्था घुसाइदिनु मार्क्सवादको दोषपूर्ण बुझाइको सूचक हुन् । यो भिडभाडपना हो र यो आज मात्रै होइन, मार्क्स–एंगेल्सका युगमा समेत थियो । (जाति: बुद्ध व आंबेडकर जरुरी, मार्क्स फलतू, लेखक, सुरेन्द्रकुमार अज्ञात)

१८५३ अगस्ट ८ गते न्युयोर्क ट्रिबुनमा मार्क्सद्वारा लेखिएको एक लेख छापिएको थियो । ‘फ्युचर रिजल्ट अफ ब्रिटिस रुल इन इन्डिया’ शीर्षकमा प्रकाशित उक्त लेखमा मार्क्सले जात व्यवस्था सम्बन्धमा लेखेका छन्, ‘रेलवे व्यवस्थाका कारण पैदा भएको आधुनिक उद्योगधन्धाले त्यो पैत्रिक/आनुवंशिक श्रम विभाजनलाई खत्तम गरिदिनेछ, जसको आधारमा भारतीय जातिप्रथा खडा छ । जो भारतको उन्नति तथा उसको शक्तिको राहको ठुलो रोकावट हो ।’ विडम्बना, मार्क्सको त्यो कल्पनाविपरीत जात व्यवस्था आजपर्यन्त ज्युँकात्युँ छ ।

अन्तरजातीय विवाह (इन्टर–म्यारिएज) को माध्यमद्वारा जात व्यवस्था नष्ट हुन्छ । हिन्दु मान्यताअनुसार ‘आफ्नो गोत्रको बाहिर तर आफ्नो समूहभित्र’ विवाह गर्ने नियम वा परम्परा जो छ । जसका आधारमा जात व्यवस्था टिकिरहेको छ । यसको सट्टा समूहको पनि बाहिर विवाह सुरु हुन्छ, अर्थात् एक निश्चित वा सीमित समूहभित्र मात्रै विवाह सीमित रहँदैन, तब जातको भाइरस आफैँ समाप्त हुनेछ । बाबासाहेब डा. भीमराव अम्बेडकर भन्छन्, ‘म यो मान्दछु कि जात व्यवस्थाको वास्तविक समाधान अन्तर्जातीय विवाह हो । रक्त मिश्रणद्वारा मात्रै मानिस एक–आपसमा निकटताको भावना पैदा गर्न सक्छन् । जबसम्म एक–आपसमा नातेदार हुने, परस्पर सम्बन्धित हुनेका भावना दृढ हुँदैन, तबसम्म जात व्यवस्थाद्वारा पैदा गरिएको अलगाव (पृथक्) भावना र एक दोस्रोप्रति अपरिचित र अनजान हुने भावना समाप्त हुन सक्दैन ।’

हिन्दु समाजका लागि अन्तर्जातीय विवाह बहुत जरुरी छ । यो सामाजिक जीवनमा एकता उत्पादन गर्ने महत्वपूर्ण शक्ति हो । गैरहिन्दु समाज, जहाँ सामाजिक एकता र समानता पहिल्यैदेखि मौजुद छ, त्यहाँका लागि विवाह जीवनको एक सामान्य घटना मात्रै मानिन्छ । तथापि, जहाँ समाज विघटित छ, उहाँ विवाह एक बाँध्नेवाला शक्ति (विवाह बन्धन), एकता उत्पादन गर्ने शक्तिका रूपमा अनिवार्य आवश्यकता बन्न पुग्छ । यसर्थ, जात व्यवस्था नष्ट गर्न अन्तर्जातीय विवाह एक वास्तविक इलाज हो, यसका अलवा कुनै उपाय (मार्ग) द्वारा जात व्यवस्था उन्मूलन (नष्ट) गर्न सकिँदैन । (डा. अम्बेडकर : लेख तथा प्रवचन, भो.–१, पि.६७) 

सन् १९४५ मा डा. भीमराव अम्बेडकरले एक पुस्तक लेखे, जो विश्वविख्यात बन्यो, ‘हु वयर द शूद्राज ?’ उक्त पुस्तकमा बयान गरिएअनुसार पहिले समाज त्रैवर्णिक (तीन वर्ण भएको) थियो । जस्तै( ब्राह्मण पुरोहित, क्षत्रीय (क्षेत्र–खेतका पालक) तथा आममानिस अर्थात् वैश्य । जब एक दिन शूद्र नामक क्षत्रीय कबिलाका मुखिया थिए, उनले कुनै विवादका कारण ब्राह्मण, पुरोहितको अपमान र पिटाइ गरिदिए । उक्त समयमा ठुलो द्वन्द्व र आतंक नै फैलिएको थियो । जसका कारण शूद्र गणका मानिसमाथि ब्राह्मणहरूले धार्मिकलगायत सबै खालका बहिष्कार लागू गरिदिए । उनको यज्ञ, जन्म–मृत्यु संस्कार आदि कर्म गर्न र उनीहरूलाई अन्य शुभकार्यमा उपस्थिति गराउन बन्द गराइयो । आफूहरूसमेत ब्राह्मण, पुरोहितको बहिष्कारमा परिने डरले गैरब्राह्मण वा अन्य समुदाय वा अन्य समाजका व्यक्तिले समेत शूद्र गणमाथि बहिष्कार गर्न थाले । अनि समाजमा चौथो वर्णको जन्म हुन पुग्यो, ‘शूद्र’ । शूद्रमाथि विभेद लादियो । उनीहरू क्षत्रीय वर्णकै भए पनि उनीहरू बहिष्करणमा पारिए । कुनै कामधन्धा, रोजगार, घरबार, इज्जत प्रतिष्ठाविहीन बनाइए ।

यसैबिच बुद्ध धम्मको उदय भयो, जसको उद्देश्य नै समानता थियो । त्यसको मुख्य राहत बहिष्कृत समाज शूद्रलाई हुन गयो । किनकि, बुद्ध जातीय विभेदबाट मुक्त थिए । ठुलो संख्यामा उनीहरू बुद्ध धर्ममा प्रवेश गरे । सोही समय विशेषत: दुई कारणले शूद्रलाई अस्पृश्य (अछुत) जाति घोषणा गरियो । 
बौद्धान् पाशुपतांश्चैव लोकायतिकनास्तिकान् ।

विकर्मस्थान् द्विजान् स्पृष्ट्वा सचैलो जलमाविशेत ।।
(याज्ञवल्क्यस्मृति ३/, अपरार्क, पृष्ठ ९२३,  स्मृतिचन्द्रिका)

अर्थात्, यसप्रकारले यहाँ गोमांस (गाईको मासु) भक्षण गरेका कारण यी निषाद्लाई अस्पृश्य (अछुत) घोषित गरिएको छ । र, दोस्रो ग्रन्थमा यिनले बुद्धधर्म अपनाएका कारण यी सबैलाई अछुत बनाइएको छ । यसरी बुद्धकाल तथा मनुस्मृतिकालसम्म शूद्रलाई विभेद गरिने भए पनि अछुत करार गरिएको थिएन । पहिलो, गाईको मासु खान नछाडेका कारण तथा दोस्रो बुद्ध धर्म अपनाएका कारण केही शूद्र गणलाई अछुत घोषित गरिएको प्रमाण शास्त्रहरूमा प्रशस्तै भटिन्छन् । 

अशोकवदान नामक ग्रन्थका अनुसार पुष्यमित्र शुंग (इ.पू. १८५–इ.पू. १४९) ले बौद्ध भिक्षुको हत्या गर्ने र बुद्धविहारलाई जलाउँदै स्यालकोटसम्म पुग्यो । त्यहाँ पुगेर उसले घोषणा गर्यो– जसले एक श्रमण (बुद्धका अनुयायी, बौद्ध भिक्षु) को टाउको काटेर मलाई दिन आउँछ, उसलाई म १०० दिवार दिनेछु । 

जात व्यवस्था अन्त्य गर्नु सबैका लागि जरुरी र मानव कल्याणमा हितकर छ । जात व्यवस्था नष्ट गर्नु आवश्यक छ, तर सहज छैन । यससँग सम्बन्धित व्यवस्था कसैको आस्था, विश्वास र धर्म हो भन्दैमा प्रश्न उठाउनबाट वर्जित गर्नुहुँदैन । यसका लागि चरणबद्ध सामाजिक, राजनीतिक र आर्थिक आन्दोलन र संघर्षको तयार गर्नु आवश्यक छ ।

See More On

सुझावित समाचार