नेपालसहित दक्षिण एसियामा भोलि शनिबार इद इदुल फित्र मनाइँदै

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

खाडी देशका मुस्लिम समुदायले शुक्रबार इदुल फित्र मनाएका छन् भने नेपाल, भारत र पाकिस्तानलगायतका देशमा भोलि शनिबार इदुल फित्र मनाइँदै छ। शुक्रबार साँझ चन्द्रमा (चाँद) देखिएसँगै दक्षिण एसियाली देशहरूमा इद मनाउने तयारी तीव्र भएको हो।

यस वर्ष मुस्लिम समुदायले फागुन ७ गतेदेखि पवित्र रमजान महिनामा रोजा (उपवास) बस्दै आएका थिए। इस्लाम धर्मअनुसार रमजान महिनाभरि बालिग महिला र पुरुषहरूले दिनभरि निराहार रही रोजा पालन गर्छन्।

इदुल फित्रको अवसरमा मुस्लिम धर्मावलम्बीहरूले नजिकको इदगाह वा मस्जिदमा गएर सामूहिक रूपमा विशेष नमाज अदा गर्ने परम्परा रहेको छ। नमाजपछि एक–अर्कालाई अँगालो हाल्दै इदको शुभकामना आदान–प्रदान गर्ने चलन पनि छ।

यस पर्वको मुख्य परिकारका रूपमा दुध सेवाई (सेवइँ) विशेष रूपमा तयार गरिन्छ। साथै, इदको अवसरमा मुस्लिम समुदायले नयाँ लुगा–कपडा लगाएर खुसी साटासाट गर्ने परम्परा पनि रहेको छ।

इस्लाम धर्मका पाँच आधार स्तम्भ– इमान, नमाज, रोजा, जकात र हजमध्ये रोजा तेस्रो स्थानमा पर्दछ। एक महिनासम्म रोजा बसेपछि यसको समापनको खुसियालीस्वरूप इदुल फित्र मनाइन्छ।

सुझावित समाचार