बाँकेमा गत फागुनमा पाँचवटा जघन्य अपराधसहित ११९ वटा मुद्दा दर्ता भएका छन्। त्यसमध्ये ३१ वटा गम्भीर अपराध र ८३ वटा सामान्य अपराधका मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक पातलीले जानकारी दिए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी आठवटा मुद्दा दर्ता भएकोमा १० जना आरोपितलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ। उनले फागुनमा आर्थिक अपराधसम्बन्धी २० वटा उजुरी दर्ता भएको बताउँदै चालू मुद्दाका ८८ जना प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिए। ‘सार्वजनिक चासोसम्बन्धी फर्स्याेट हुन बाँकी रहेका मुद्दामध्ये १७ वटाको अनुसन्धान गरी टुंग्याइएको छ,’ उनले भने।
फैसला कार्यान्वयनतर्फ २७ जना फरार अपराधीलाई पक्राउ गरिएको बताउँदै उनले सात वर्ष चार महिना १६ दिन कैद सजाय भुक्तान तथा १४ लाख ४३ हजार ९७६ रुपैयाँ बिगो रकम तथा क्षतिपूर्ति असुलउपर गरिएको बताए।
फागुन महिनामा दर्ता भएका महिला बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ७७ वटा उजुरीमध्ये ४२ वटा फर्स्याेट भएको डिएसपी पातलीले जानकारी दिए। ‘फागुनमा ३२ महिला, १६ बालिका र पाँच बालक हराएको भन्दै खोजतलासका लागि निवेदन परेकोमा १२ महिला, नाै बालिका तथा तीन बालक फेला परेका छन्,’ उनले भने।
उनले एक महिनामा ६ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर, ४९ ट्याबलेट नाइट्रजेपाम बरामद गर्नुका साथै ओसारपसारमा संलग्न १९ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको बताए।