क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले मकवानपुरबाट एक महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको उजुरीका आधारमा राक्सिराङ गाउँपालिका– १ बस्ने ३७ वर्षीया धनसानी गोलेलाई पक्राउ गरिएको हो।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीका अनुसार विशाल केसी भन्ने व्यक्तिको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको वैदेशिक रोजगार ठगी मुद्दामा गोलेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी गोलेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी गरिएको प्रवक्ता बोगटीको भनाइ छ। प्रहरीले विदेश पठाइदिन्छु भन्दै ठगीमा परेका अन्य व्यक्तिहरूलाई समेत विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ।