घरायसी विवादका क्रममा कुटपिट गरी ७० वर्षीय बाबुको हत्या गरेको आरोपमा प्रहरीले ४९ वर्षीय छोरालाई पक्राउ गरेको छ।
२० माघको साँझमा मोरङको रतुवामाई नगरपालिका– ३, चौकीघाटका सत्रुधन सहनीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा ४९ वर्षीय छोरा श्रवणकुमार सहनीलाई प्रहरीले डेढ महिनापछि पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सिजुवाले बाबुलाई मरणासन्न कुटपिट गरेर फरार भएका छोरा श्रवणकुमारलाई झापाको गौरीगन्ज गाउँपालिका– ६, देवीगन्जबाट ५ चैतमा पक्राउ गरेको हो।
मोरङ प्रहरी प्रवक्ता डिएसपी लीलाराज लामिछानेका अनुसार श्रवणकुमारले घरायसी विवादमा वृद्ध बाबुलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। गम्भीर घाइते सत्रुधनको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारपछि घरमै २८ माघमा मृत्यु भएको थियो।
पक्राउ परेका श्रवणकुमारविरुद्ध कर्तव्य ज्यान कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।