बाराको निजगढ नगरपालिका क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन रोक्न प्रहरीले सक्रियता बढाएको छ। प्रहरीले बिहीबार बकैया खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गरी ओसारपसार गरिरहेका तीनवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय निजगढका अनुसार बिहीबार बिहान ७ः३० बजे निजगढ नगरपालिका– ९ स्थित बकैया खोलामा अवैध उत्खनन भइरहेको भन्ने सूचनापछि प्रहरीको टोली खटिएको थियो।
प्रहरी टोली पुग्दा खोलाबाट बालुवा उत्खनन गरी ट्रयाक्टरमा लोड गरिँदै गरेको र केही ट्रयाक्टरहरू भित्री बाटो हुँदै बाहिरिँदै गरेको अवस्थामा फेला परेका थिए। सो क्रममा बिल–बिजक तथा कानुनी कागजातविना बालुवा बोकेर आवतजावत गरिरहेका तीनवटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बागमती प्रदेश २–०३–००१ त १८०८, ना.७ त ३०१ र मधेश प्रदेश २–०३–००१ त ७४६५ नम्बरका ट्र्याक्टरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएका ट्रयाक्टरहरू हाल इलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ भने सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रण गर्न नियमित अनुगमन तथा गस्तीलाई थप कडाइ गर्ने बताएको छ। साथै, यस्ता अवैध गतिविधिमा संलग्न नहुन तथा यस्ता घटना देखेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ।