नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ १२ चैतका लागि तय गरेको छ। बिहीबार संसद् सचिवालयले दलका प्रतिनिधिहरूसँग छलफल गरेर शपथ तय गरेको हो।
१२ गते बिहान संसद्को ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र दिउँसो २ बजे ज्येष्ठ सदस्यबाट अन्य सांसदहरूले शपथ लिने तय भएको संसद् सचिवालयले जनाएको छ।
त्यसलगत्तै नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ। रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसदको शपथलगत्तै पार्टीले संसदीय दलको बैठक बसेर संसदीय दलको नेता चयन गर्नेछ। रास्वपाले एकल बहुमत ल्याएकाले संसदीय दलको नेताबारे जानकारी राष्ट्रपतिलाई गराएपछि नयाँ प्रधानमन्त्री नियुक्त हुनेछन्। जसअनुसार १३ चैतमा नयाँ प्रधानमन्त्री नियुक्त हुने सम्भावना छ। सर्वसम्मत रूपमा बालेन्द्र शाहलाई संसदीय दलको नेता छान्ने पार्टीको तयारी छ।
नयाँ सरकार गठनबारे बिहीबार साँझ रास्वपाका शीर्ष नेताबिच छलफल भएको छ। सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन तथा उपसभापतिद्वय डिपी अर्याल र डा.स्वर्णिम वाग्लेबिच छलफल भएको हो।
एक नेताका अनुसार सांसदको शपथअघि पार्टीको केन्द्रीय समिति बैठक बस्नेछ। बैठकले संसदीय दलको नेता छान्नका लागि सर्वसम्मत रूपमा पत्राचारको तयारी भइरहेको छ।