विशेष अदालतले पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा विशेषमा उपस्थित दुईजनाको निवेदनमाथि आदेश गरेको छ। जसमध्ये एकजनालाई धरौटीमा राख्ने र अर्कालाई साधारण तारेखमा राख्ने आदेश भएको छ।
बिहीबार रतिशचन्द्र लाल सुमन र हरिबहादु खड्का उपस्थित भएका थिए। विशेषका अनुसार सुमनसँग पाँच लाख रुपैयाँ धरौटी मागको आदेश भएको छ भने खड्कालाई साधारण तारेख दिइएको छ। उनीहरुको निवेदनमाथि विशेषका सदस्यहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सुनुवाइ गरेको हो।
सुमन चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनी लिमिटेडसमेतबाट सम्भाव्यता अध्ययन प्रतिवेदनउपरको छलफलमा सहभागी हुनुका साथै प्रतिवेदन स्वीकार गरेका थिए। प्राधिकरण सञ्चालक समितिबाट भएको निर्णय प्रक्रियामा समेत उनको संलग्नता देखिएको थियो। उनी प्राधिकरणका तत्कालीन महानिर्देशक हुन् भने सञ्चालक समिति सदस्य सचिव समेत हुन्।
यसैगरी खड्का संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उपसचिव हुन्। उनले विमानस्थल निर्माण प्रक्रियामा टिप्पणी उठान गरेका थिए। उनलाई भने साधारण तारेखमा राखेको छ।
चीनको अनुदानमा बनेको पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबीसहित गत २१ मंसिरमा दायर मुद्दा हाल विशेषमा विचाराधीन छ। आठ अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको दाबी अख्तियारको छ। यस क्रममा ५५ प्रतिवादी रहेकोमा निर्माण कम्पनीसमेत उपस्थित भइसकेको छ। सबै प्रतिवादीको बयान र थुनछेक भइसकेपछि यो मुद्दा सुनुवाइमा जानेछ।