महिलामाथि हुने विभिन्न प्रकारका हिंसा न्यूनीकरण गर्ने उद्देश्यसहित पोखरामा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। पोखराको पृथ्वीनारायण क्याम्पसअन्तर्गत बिएएलएलबी अध्ययन गर्ने विद्यार्थीहरुको समूह ‘टिम अल्फा’ले पोखराको पृथ्वीचोकमा लैंगिक हिंसा तथा बलात्कारविरुद्ध सडक नाटकसहित विरोध प्रदर्शन गरेको हो।
विभिन्न समयमा देशका विभिन्न भागमा भएका बलात्कारपछि हत्या, महिला तथा बालिकामाथि हुने हिंसासँगै अन्याय अन्त्याचारविरुद्ध प्रदर्शन गरेको समूहका सदस्य अखिल खरेलले जानकारी दिए। यस्ता अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको माग गदै सम्पूर्ण पीडितहरुको न्यायको लागि आवाज उठाउने उद्देश्य कार्यक्रमको रहेको उनले बताए।
कालो पहिरन लगाएर विरोध प्रदर्शन गरेका विद्यार्थीहरुले आँखामा कालो पट्टी बाँधेर सडक नाटक देखाएका थिए। दुई साताअघि २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर– ४ सहिदपार्क नजिकै जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्यासहित हालसम्म भएका यी र यस्तै घटनाबाट पीडित भएकाहरुको न्यायका लागि सडक नाटकसँगै विरोध प्रर्दशन गरेको आयोजक समूहकी सदस्य तथा विरोध कार्यक्रमकी संयोजक सुवानी पौडेलले बताइन्।
समूहले विगतदेखि नै विभिन्न सचेतनामूलक अभियानहरु सञ्चालन गर्दै आएको जानकारी दिँदै उनले आजको प्रदर्शन इनिशा विक, निर्मला पन्तलगायतको घटनामा मात्र सीमित नभई समग्र नारी अस्तित्वमाथि उठेका प्रश्नहरुको प्रतिनिधित्वका रुपमा लिँदै प्रस्तुत गरिएको बताइन्।
समाजमा विद्यमान विकृति र असफलताको प्रतिबिम्ब उजागर गर्ने प्रयाससँगै बलात्कारजस्ता जघन्य अपराधविरुद्ध सशक्त आवाज उठाउन, जनचेतना फैलाउन, पीडितलाई न्याय दिलाउन र यस्ता घटना दोहोरिन नदिनका लागि दबाब सिर्जना गर्न प्रदर्शन गरेको समूहले जनाएको छ।