एक महिनामा १६ फरार प्रतिवादी पक्राउ

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा विभिन्न मुद्दाका फरार १६ प्रतिवादी पक्राउ गरेको छ । फागुन महिनामा फैसला कार्यान्वयनका लागि विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयको मासिक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै  सूचना अधिकारी तथा  प्रहरी निरीक्षक पूर्णबहादुर केसीले एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेका १६ नाल भरुवा बन्दुक बरामद गरिएको जानकारी दिए। यस्तै, अपराध अनुसन्धानतर्फ फागुन महिनामा १५ वटा नयाँ मुद्दा दर्ता भएका छन् भने पुराना र नयाँ गरी २२ वटा मुद्दा फर्स्याेट गरिएका छन् । 

यसैगरी, सवारी दुर्घटना न्यूनीकरणका लागि गरिएको सक्रियताका क्रममा फागुन महिनामा २४१ वटा सवारीसाधनलाई कारबाही गरिएको केसीको भनाइ छ । उक्त कारबाहीबाट दुई लाख १२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ ।

प्राकृतिक स्रोतको अवैध दोहन रोक्ने क्रममा बालुवा लोड गरिएको एक थान ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको पनि उनले जानकारी दिए। उनका अनुसार सामुदायिक सचेतनालाई पनि उत्तिकै प्राथमिकता दिइएको छ। जिल्लाभर आत्महत्या न्यूनीकरण, बालविवाह, लागुऔषध तथा साइबर अपराधविरुद्ध ४८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रममा दुई  हजार १४१ नागरिकको सहभागिता रहेको तथ्यांक छ । शान्तिसुरक्षालाई थप मजबुत बनाउन नियमित गस्ती तथा सूचना संकलनलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार