प्रधानमन्त्री कार्की बिदाइ भेटमा व्यस्त

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण
  • शान्तिपूर्ण रूपले निर्वाचन सम्पन्न गरेर सत्ता हस्तान्तरणको तयारीमा रहेकी प्रधानमन्त्रीले कांग्रेस, एमाले, नेकपालाई दिइन् सान्त्वना

संक्रमणकालीन अवस्थामा गत २१ फागुनमा शान्तिपूर्ण रूपले निर्वाचन सम्पन्न गराएर सत्ता हस्तान्तरणको तयारीमा रहेकी प्रधानमन्त्री सुशीला कार्की बिदाइ भेटमा व्यस्त बनेकी छिन् । राष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्षदेखि कांग्रेस, एमाले, नेकपाका शीर्ष नेतालगायतसँग कार्कीले बिदाइ भेट गरेकी छिन् ।

अन्योलबिच शान्तिपूर्ण रूपमा निर्धारित समयमै निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी कार्कीले धन्यवाद ज्ञापनका नाममा बिदाइ भेट गरेकी हुन् । उनले आफ्नो कार्यकालमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्ने सबैलाई सकेसम्म भेटेरै धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले निर्वाचन सम्पन्न भएसँगै लोकतान्त्रिक यात्रा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन् । 

बुधबार मात्रै प्रधानमन्त्री कार्कीले नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छिन् । प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर कार्कीले धन्यवाद दिएकी हुन् । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं सहसंयोजक माधवकुमार नेपाल, नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार छलफलमा कार्कीले निर्वाचनमा विजेता नेतालाई बधाई दिँदै पराजितलाई अर्कोपटकका लागि शुभकामना दिएकी छिन् । ‘तपाईँहरूले निर्वाचनमा भाग लिइदिनुभयो । चुनावको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ,’ कार्कीले भनेकी छिन् ।

नेकपाका नेताहरूले निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै नेतृत्वदायी भूमिकाका लागि प्रधानमन्त्री कार्कीलाई बधाई दिएका छन् । ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठुलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मिहिनेतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्वपूर्ण र प्रशंसालायक छ,’ प्रचण्डले भनेका छन् । सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको प्रचण्डले स्मरण गरे । ‘हामी सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ । इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिवेला हामी मात्रै थियौँ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री नेपालले लोकतन्त्रमा निर्वाचन अपरिहार्य रहेको भन्दै त्यसका लागि खेलेको भूमिकाको प्रशंसा गरे । ‘प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन निकै राहत महसुस भएको थियो । तर, पछि तपाईँले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो । त्यस कुराले हामी सबै आत्तिएका थियौँ । तपाईँ आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो,’ उनले भनेका छन् । 

यसअघि प्रधानमन्त्री कार्कीले कांग्रेस र एमालेका शीर्ष नेताहरूसँग पनि भेट गरेर निर्वाचन सम्पन्न गर्न सहयोग गरेकोमा धन्यवाद दिएकी थिइन् । गत आइतबार कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायतसँग कार्कीले छलफल गरेकी थिइन् । बालुवाटारमा भएको छलफलमा कार्कीले निर्वाचन सफल बनाउन कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार प्रकट गरेकी थिइन् । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए । कार्कीले निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गरेकी थिइन् । 

कार्कीले पितृशोकमा रहेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई आइतबार नै गुन्डु पुगेर भेटेकी छिन् । कार्कीले दिवंगत पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिन् । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो ।

मंगलबार मात्रै कार्कीले एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वउपमहासचिव प्रदीप ज्ञवाली र पूर्वप्रमुख सचेतक महेश बर्तौलालाई बालुवाटार बोलाएर छलफल गरेकी थिइन् । छलफलमा कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा एमालेलाई धन्यवाद दिँदै देश र जनताका मुद्दामा निरन्तर लागिरहन सुझाएकी छिन् । कार्कीले निर्वाचनमा जित–हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन आग्रह गरेकी छिन् । ‘एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन । भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले व्यहोरेको उतारचढाव पनि देखेकै छौँ,’ कार्कीले एमाले नेताहरूसँग भनेकी छिन्, ‘राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस् ।’ एमाले नेताहरूले पनि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका थिए ।

सुझावित समाचार