चुनावी धक्काको आत्ममन्थन गर्दै दलहरू

नेतृत्वको औचित्यसहित संगठन पुनर्संरचना र आगामी राजनीतिक दिशाबारे निर्णायक बहसमा पुराना पार्टी

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचनको अप्रत्याशित धक्कासहितको परिणामपछि पुराना दलहरू एकसाथ आत्मसमीक्षामा जुटेका छन् । कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएर कमजोर प्रदर्शन, अन्तर्घात र समग्र चुनावी अवस्थाको समीक्षा गर्दै छ । एमाले र नेकपाले तल्लो तहदेखि प्रतिवेदन संकलन गर्दै पराजयका कारण पहिचान गर्दै छन् । जसपा नेपालले ‘लहर’लाई हारको कारण मानेको छ भने राप्रपाले पनि हारको विस्तृत विश्लेषण गर्ने भएको छ । 

प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय भोगेपछि कांग्रेसले शुक्रबार चुनावी समीक्षाका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठकमा देशको समग्र चुनावी परिस्थिति, पार्टीको कमजोर प्रदर्शन र अन्तर्घातलगायत विषयमा छलफल गर्ने तयारी छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार जारी गरेको सूचनाअनुसार शुक्रबार १ बजे ललितपुरस्थित सानेपा पार्टी कार्यालयमा बैठक बस्नेछ । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बस्न लागेको हो । 

निर्वाचनमा कांग्रेसले संसद्को कुल २७५ सिटमध्ये जम्मा ३८ सिट मात्रै जितेको छ । प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिटसहित कांग्रेस दोस्रो स्थानमा सीमित भएको हो । अघिल्लो निर्वाचनमा ८८ सिट जितेर संसद्को पहिलो दल बनेको कांग्रेस यसपटक पहिलो दल बनेको रास्वपाभन्दा १४४ सिटले पछाडि परेको छ । 

सभापति गगनकुमार थापाले चुनावी हारको नैतिक जिम्मेवारी स्वीकार गर्दै आगामी कदमबारे २५ फागुनदेखि नेताहरूसँग बेग्लाबेग्लै छलफल गरिरहेका छन् । कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सार्दै निर्वाचन लडेको थियो । थापाले सभापतिबाट राजीनामा दिने विकल्पमा पनि सुझाव मागेका छन् । यद्यपि, उनी पक्षधर नेताले राजीनामा गर्न नहुने सुझाव दिएका छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले नयाँ पत्रिकासँग भने, ‘बैठकमा निर्वाचनसँग सम्बन्धित सबै विषयमा विस्तृत समीक्षा हुनेछ र पार्टीको पुनर्निर्माणको मार्गचित्र तय गर्छौँ ।’

सभापति थापाले गत साता पदाधिकारीहरूसँग छलफल गर्दै केन्द्रीय कार्यसमिति बैठकबारे राय लिएका थिए । त्यसअघिको शनिबार पार्टीका २५ जना केन्द्रीय नेताले थापासँग बालुवाटारमा भेट गरेका थिए । सभापति थापा निर्वाचनमा अप्रत्याशित पराजयका लागि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने मनस्थितिमा छन् । यद्यपि, राजीनामा नदिन उनीमाथि पार्टी नेताहरूको दबाब छ ।

केन्द्रीय सदस्यहरूले उनलाई ‘राजीनामा नभई नियमित महाधिवेशनको तयारी गर्न’ सुझाव दिइरहेका छन् । शनिबार भेटेका सहमहामन्त्री प्रकाश स्नेही तथा नेताहरू अजयबाबु सिवाकोटी, देवेन्द्रराज कँडेल, नारायण भट्टराई, जनक गिरी, मुना भुसाल, डा. अनिता प्रधान, विष्णुदेवी पाण्डेसहितका नेताहरूसँग भने थापाले राजीनामा दिने कुरा नगरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए । 

भेटमा उनीहरूले सभापति थापासँग पार्टी सुधारका तीन माग गरेका थिए । सिवाकोटीका अनुसार उनीहरूले पार्टीको विद्यमान क्रियाशील सदस्यता खारेज गर्न तथा बायोमेट्रिकसमेत लिएर प्रत्यक्ष रूपमा व्यक्तिको उपस्थितिमा नयाँ क्रियाशील सदस्यता दिनुपर्ने पहिलो माग राखेका छन् ।

दोस्रो, अहिले सक्रिय र प्रभावकारी नभएका तथा अवधि सकिएका तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघको केन्द्रदेखि जिल्ला समिति विघटन गर्न उनीहरूको माग थियो । 

तेस्रो, आगामी भदौसम्म पार्टीको नियमित महाधिवेशनमा जाने गरी पार्टीको आन्तरिक सुधारको एजेन्डामा काम गर्नुपर्ने नेताहरूको माग थियो । यसमा सभापति थापाले थप छलफल गरौँला भन्ने जवाफ दिएका थिए । 

विशेष महाधिवेशनसँगै १ माघमा थापा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । निर्वाचित भएको ५० दिनमा कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा गएको थियो । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले गत साता सार्वजनिक दुईवटा भिडियो सन्देशमा पार्टीले चुनावमा व्यहोरेको हारको कारक वर्तमान नेतृत्व नभएर निवर्तमान नेतृत्व भएको भन्दै सबै बसेर समीक्षा गर्नुपर्नेमा जोड दिएका थिए । शर्माले सभापति थापालाई राजीनामा नदिन सुझाव दिँदै आएका छन् । 

कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विगतको निर्मम समीक्षा गर्दै अस्वाभाविक महŒवाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक–बृहत् एकताका लागि अगाडि बढ्नुपर्ने भन्दै आएका छन् ।

आत्मसमीक्षा गर्दै एमाले र नेकपा 
अनपेक्षित हार खाएका दुई प्रमुख कम्युनिस्ट घटक एमाले र नेकपा प्रतिनिधिसभा निर्वाचन परिणामबारे आत्मसमीक्षामा जुटेका छन् । औपचारिक समीक्षा सुरु नभए पनि दुवै दल अनौपचारिक छलफलमा सक्रिय छन् र समीक्षा गरी प्रतिवेदन पेस गर्न तल्ला कमिटीहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओली शोकमा रहेकाले एमालेले तत्काल समीक्षा बैठक बोलाउन सकेको छैन । यद्यपि, महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक गर्दै प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रगत रूपमा गम्भीर समीक्षा गर्न निर्देशन दिएका छन् । एमालेमा अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतका मूल नेतृत्वले निर्वाचनमा हार व्यहोरेका छन् । 

यस्तै, निर्वाचनलाई ‘इतिहासकै भावनात्मक निर्वाचन’ को संज्ञा दिएको नेकपाले सबै निर्वाचन क्षेत्रलाई विस्तृत समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएको छ । नेकपाले प्रचार योजना, आर्थिक परिचालन, सामग्री वितरण, डिजिटल तथा सामाजिक सञ्जाल प्रयोग, बुथ व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत सबै पक्षमा विस्तृत समीक्षा गर्न निर्देशन दिइएको छ ।

भर्चुअल बैठकमा महासचिव पोखरेलले हारलाई सहज स्वीकार गर्नुको साटो लोकप्रियतावाद र अराजकताको जगमा नयाँ शक्ति उदाएको आरोप लगाएका छन् । उनले यस्तो शक्तिसँग राष्ट्र, राष्ट्रियता, विचार, सिद्धान्त र स्पष्ट राजनीतिक दृष्टिकोणको अभाव रहेको दाबी मात्र गरेनन्, दीर्घकालीन परिणाम दिन नसक्ने ठोकुवा गरे । 

महासचिव पोखरेलले पराजयका कारण मिहिन ढंगले पहिचान गरी अगाडि बढ्न निर्देशन दिएका छन् । एमाले अध्यक्ष केपी ओली र पार्टीविरुद्ध ‘नयाँ बनाम पुरानो’ भाष्य निर्माण गरी जनतामा भ्रम फैलाइएको पनि पोखरेलको भनाइ छ । भ्रम क्रमश: चिर्दै एमाले पुन: स्थापित हुने उनको दाबी छ ।

एमाले सचिव पद्मा अर्यालले पराजयको सूक्ष्म अध्ययन गरी निष्कर्ष कार्यान्वयन गर्ने बताइन् । ‘सामूहिक हिसाबले छलफल गरेर निष्कर्ष निकालेको छैन । औपचारिक समीक्षा बैठकमा परिणामका कारणहरूको अध्ययन गरिनेछ । यद्यपि नेतृत्व र पार्टीविरुद्ध प्रायोजित भ्रम, विशेष गरी भदौ २३–२४ का घटनासँग जोडिएको प्रचार पराजयका कारणमध्ये देखिन्छन्,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘साथै एमाले भौगोलिक संगठनमा केन्द्रित रहँदा विरोधीहरूले सामाजिक सञ्जालमार्फत प्रभाव विस्तार गरे । पराजयमा यो पनि एउटा कारण बनेको छ ।’

अर्का सचिव छविलाल विश्वकर्माले अपेक्षाअनुसार परिणाम नआएकाले पार्टीले वस्तुनिष्ठ समीक्षा गर्ने बताए । ‘परिणाम जस्तो आएको छ, त्यसलाई हेरेर समग्रमा वस्तुनिष्ठ ढंगले समीक्षा हुन्छ । कार्यकर्ता पंक्तिले कसरी लिएका छन्, प्रदेश, जिल्ला संरचनाहरूले कसरी लिएका छन् ? त्यसको आधारमा निष्कर्षमा पुग्छौँ,’ उनले भने, ‘हारका कारणहरू पक्कै छन्, ती कारणको पहिचान भएपछि समाधान खोज्ने हो र कार्यान्वयन गर्ने गरी अगाडि बढ्ने हो ।’ 

चैत अन्तिम साता मात्र बैठक बोलाउने एमालेको तयारी
एमालेले तत्काल बैठक बोलाएर चुनावको समीक्षा नगर्ने भएको छ । पहिले वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहमा चुनावी समीक्षा गरेर माथि प्रतिवेदन प्राप्त भएपछि मात्र केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको तयारी छ । चैतको अन्तिम सातातिर केन्द्रीय कमिटी बैठक बोलाउन सकिने महासचिव पोखरेलले भर्चुल बैठकबाट जानकारी गराएका थिए । अध्यक्ष ओली शोकमा रहेका कारण पनि तत्काल बैठकको सम्भावना नरहेको सचिव छविलाल विश्वकर्माको भनाई छ । ‘अध्यक्ष शोकमा हुनुहुन्छ । शोकपछि बैठक बसेर निर्वाचनको वस्तुनिष्ठ समीक्षा हुन्छ,’ उनले भने । ओलीका पिता मोहनप्रसाद ओलीको केही दिनअघि निधन भएको थियो । ०७९ को निर्वाचनमा समानुपातिकतर्फ पहिलो पार्टी बनेको एमाले यसपटक तेस्रोमा खुम्चिएको छ । अघिल्लो चुनावमा प्रत्यक्षतर्फ ४४ स्थानमा जित हासिल गरेको एमालेले योपटक ९ स्थान मात्र जितेको छ । ४१ स्थानमा निकटतम प्रतिद्वन्द्वी भएको छ भने ४९ स्थानमा जमानत जफत भएको छ । 

यस्तै, नेकपाले पनि औपचारिक समीक्षा सुरु गरेको छैन । पार्टीले निर्वाचन क्षेत्रस्तरमै समीक्षा गरी प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएको छ । केन्द्रीय नेताहरूले यस निर्वाचनलाई ‘इतिहासकै भावनात्मक निर्वाचन’को संज्ञा दिएका छन् । निर्वाचनमा प्रतिस्पर्धा विचार र एजेन्डाभन्दा बढी परिवर्तनको चाहना र नयाँप्रतिको आकर्षणमा केन्द्रित भएको नेताहरूको विश्लेषण छ । 

नेकपा प्रचार संयन्त्रका संयोजक अग्नि सापकोटाका अनुसार मतदाताले अपेक्षाभन्दा फरक परिणाम आएको स्वीकार गर्दै विस्तृत समीक्षा गर्ने बताए । ‘औपचारिक समीक्षा गर्न बाँकी छ । यो परिणाम अपेक्षित भएन, राम्रोसित समीक्षा गर्छौँ । अहिलेको निर्वाचन इतिहासकै भावनात्मक देखियो,’ उनले भने, ‘दलका दृष्टिकोण, एजेन्डा, विचार, सिद्धान्तमा प्रतिस्पर्धा भएन । परिवर्तनप्रतिको चाहनाले गर्दा मतदाताले नयाँतिरको आकर्षण मात्र हेरे । उम्मेदवारको योग्यता, क्षमता हेरेनन्, नयाँ र पुरानो भन्ने भाष्य स्थपित गरियो ।’

तल्लो तहसम्म एकता प्रक्रिया पूरा नहुँदा परिणाममा असर परेको प्रारम्भिक निष्कर्ष पार्टीले निकालेको छ । पार्टी एकता प्रक्रिया अपूर्ण रहँदा र संगठन समायोजन नसकिँदै निर्वाचनमा होमिनुपर्दा चुनाव चिह्न जनतामाझ प्रभावकारी रूपमा स्थापित हुन नसकेको निष्कर्ष नेकपाको छ । गत कात्तिकमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित २२ दल र समूहको एकताबाट नेकपा गठन भएको हो ।

प्रत्यक्षतर्फ ८ सिट जितेको नेकपा १५ स्थानमा निकटतम प्रतिद्वन्द्वी बनेको छ भने ९९ क्षेत्रमा जमानत जफत भएको छ । अघिल्लो निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले १८ र एकीकृत समाजवादीले १० सिट जितेका थिए ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले संयुक्त सर्कुलर जारी गर्दै सबै निर्वाचन क्षेत्रलाई विस्तृत समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएका छन् । प्रचार योजना, आर्थिक परिचालन, सामग्री वितरण, डिजिटल तथा सामाजिक सञ्जाल प्रयोग, बुथ व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत सबै पक्षमा विस्तृत समीक्षा गर्न निर्देशन दिइएको छ । 

राप्रपा पनि चुनावी परिणामको समीक्षा गर्दै
अघिल्लो निर्वाचनको तुलनामा करिब दुईतिहाइ सिट गुमाउँदै प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ चार गरी जम्मा पाँच सिटमा सीमित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन परिणामको समग्र समीक्षा गर्ने तयारी गरेको छ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा १४ सिट जितेको राप्रपाले यसपटक नौ सिट गुमाएको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार अघिल्लो निर्वाचनको तुलनामा किन कम मत प्राप्त भयो भन्ने विषयमा विस्तृत विश्लेषण गरिनेछ ।

‘लहर’का कारण पराजय भएको जसपाको निष्कर्ष
जसपा नेपालले ‘लहर’का कारण पराजय भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । औपचारिक बैठक बस्न बाँकी रहे पनि प्रवक्ता मनीष सुमनका अनुसार नयाँ शक्तिको लहरले परिणाम प्रभावित गरेको हो । लहर आयो, केही दिनपछि जान्छ । हामी प्रदेश र स्थानीय तहमा छौँ । राष्ट्रिय सभामा पनि छौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व नभएको मात्र हो,’ ‘सरकारका सकारात्मक कामको वस्तुनिष्ठ समर्थन र आलोचना गर्छौँ । पार्टीको सान्दर्भिकता आगामी दिनमा अझै बढेर जान्छ ।’

See More On

सुझावित समाचार