- घर जलेपछि राजमिस्त्रीको काम गर्ने ४५ वर्षीय प्रकाश ऋषिदेवको दुखेसो– दैनिक ज्याला मजदुरी गरेर अलिअलि जोगाएको रकमबाट बाँसले बारेको झुपडीमा बाँसले नै च्यापेर छानामा जस्तापाता हालेको थिएँ । घर अझै राम्रो बनाउँदै जाने चाहना थियो । तर, आगलागीले सपना चकनाचुर पारिदियो ।
बिहान–बेलुकाको छाक टार्न दैनिक ज्यालादारी काम पाउनुलाई नै मोरङको बुढीगंगा गाउँपालिका– ३, गोकुवाका मुसहर ठुलो सफलता ठान्थे । त्यही मजदुरीबाट आएको अलिअलि पैसा जोगाएर केहीले झुपडीमा टिनको छानो लगाएका थिए, कसैले भित्ताको फरिको फेरेर इँटा र माटोको गाह्रो पनि उभ्याएका थिए । तर, अधिकांशको भने बाँसको फरिकाले बारेको र फुसको छानो हालेका झुपडी नै थिए । सरकारको ‘जनता आवास कार्यक्रम’ सुनेका उनीहरू राज्यबाट सुरक्षित आवासको अपेक्षा गरिरहेका थिए । तर, दुर्भाग्य भएकै झुपडी पनि जलेर खरानी भए ।
गोकुवाका ११ परिवार मुसहरका झुपडी बुधबार दिउँसो आगलागीमा परेर ध्वस्त भएका छन् । स्थानीय सोनी ऋषिदेव, प्रकाश ऋषिदेव, उतिम ऋषिदेव, उमा ऋषिदेव, सुनील ऋषिदेव, राजकुमार ऋषिदेव, गेमु ऋषिदेव, चैता ऋषिदेव, कमलेस ऋषिदेव, रामदेवा ऋषिदेव र तिलकु ऋषिदेवका घर जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । हावाहुरीको मौसममा खाना पकाउने क्रममा आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । ऐलानी जग्गामा बनाइएका झुपडी खरानी बनेपछि ती परिवारका ७० सदस्य विस्थापित भएका छन् । उनीहरूले स्थानीय जनता आधारभूत विद्यालयमा आश्रम लिएका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी लीलाराज लामिछानेले दिउँसो २ बजेतिर सोनी ऋषिदेवको घरबाट अचानक सल्किएको आगो एकैछिनमा बस्तीभर फैलिएको बताए । ‘दिउँसो २ बजेतिर स्थानीय सोनी ऋषिदेवको घरबाट आगलागी सुरु भएको रहेछ । बाँसले बारेको तथा टिन र फुसको छाना भएका झुरुप्प घरहरूमा एकै छिनमा आगो तीव्र रूपमा फैलियो । केही घरमा रहेका खाना पकाउने ग्यासका सिलिन्डर पनि पड्किँदा आगलागीले अझ भीषण रूप लियो, आगो नियन्त्रणमा ल्याउन पौने घण्टा लाग्यो,’ उनले भने, ‘११ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । विस्तापित ११ परिवारका ७० जनालाई स्थानीय विद्यालयमा राखिएको छ ।’
आगलागीको सूचना पाएपछि नियन्त्रणका लागि हात्तीमुढास्थित इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोली, जिल्ला प्रहरी कार्यालयको टोली, स्थानीयवासी तथा विराटनगर महानगरपालिकाका दुईवटा दमकलको सहयोगमा ४५ मिनेटभित्र आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर संरचना, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायत गरी ११ परिवारको एक करोड २० लाखबराबरको क्षति भएको प्रारम्भिक तथ्यांक संकलन भएको छ ।
विद्यालयमा आश्रय लिएका विस्थापित परिवारलाई आवश्यक खाद्यान्न, दाउरा र लत्ताकपडाको सहयोग गरिएको बुढीगंगा गाउँपालिका–३ का वडासदस्य लोकनाथ चौधरीले बताए । ‘आजका लागि विद्यालयमा बस्ने व्यवस्था मिलाएका छौँ, बिहीबारदेखि थप राहतको प्रबन्ध गर्छौँ,’ उनले भने । बलियो र सुरक्षित घरको आशा गरिरहेका मुसहरहरू भएकै झुपडी पनि आगलागीमा ध्वस्त भएपछि बिचल्लीमा परेको वडासदस्य चौधरी बताउँछन् ।
राजमिस्त्रीको काम गर्ने ४५ वर्षीय प्रकाश ऋषिदेवले दैनिक ज्याला मजदुरी गरेर अलिअलि जोगाएको रकमबाट बाँसले बारेको झुपडीमा बाँसले नै च्यापेर छानामा जस्तापाता हालेको र अझै राम्रो बनाउँदै जाने चाहना भए पनि आगलागीले सपना चकनाचुर पारिदिएको दुखेसो पोखे ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी लीलाराज लामिछानेले भने–तीव्र रूपमा फैलिएको आगो नियन्त्रणमा ल्याउन ४५ मिनेट लाग्यो
दिउँसो २ बजेतिर स्थानीय सोनी ऋषिदेवको घरबाट आगलागी सुरु भएको रहेछ । बाँसले बारेको तथा टिन र फुसको छाना भएका झुरुप्प घरहरूमा एकैछिनमा आगो तीव्र रूपमा फैलियो । केही घरमा रहेका खाना पकाउने ग्यासका सिलिन्डर पनि पड्किँदा आगलागीले अझ भीषण रूप लियो, आगो नियन्त्रणमा ल्याउन पौने घण्टा लाग्यो । ११ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । विस्थापित ११ परिवारका ७० जनालाई स्थानीय जनता आधारभूत विद्यालयमा राखिएको छ ।