बिमा रकम हत्याउन नेपाल घुम्न आएका पर्यटकको जर्बजस्ती हेलिकोप्टरमा उद्धार गरी फर्जी बिल उठाएर ठगी गरेको घटनामा सरकारी वकिल कार्यालयले बिहीबार मुद्दा दायर गर्ने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को अनुसन्धानमा ३३ जनाको संलग्नता देखिएको थियो । सिआइबीको प्रतिवेदनका आधारमा अभियोगपत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख रामहरी शर्मा काफ्लेले बताए ।
सिआइबीले चारवटा कसुरमा कारबाहीको सिफारिस गरेको छ । संगठित अपराधसहित राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको ब्युरोले जनाएको छ । ३३ जनामध्ये १० जनालाई सिआइबीले पक्राउ गरिसकेको छ भने बाँकी फरार छन् । ‘एक चरणको अनुसन्धान पूरा भएको छ,’ सिआइबीका एआइजी डा. मनोज केसीले भने, ‘जसमा संलग्न ३३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेका छौँ ।’ सिआइबीले उनीहरूविरुद्ध ९४ करोड ८४ लाख नेपाली रुपैयाँ तथा २९ लाख ९८ हजार अमेरिकी डलरबराबरको बिगो कायम गरी मुद्दा चलाउन सिफारिस गरेको छ ।
प्रहरीले माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलियालाई पक्राउ गरिसकेको छ । त्यस्तै, श्रृद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना, वायुसेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह, रोयल होलिडेजका सन्दीप तिवारी तथा पानोराम ट्रेकिङका पासाङ शेर्पालाई पनि पक्राउ गरेरै मुद्दा अघि बढाएको हो । उनीहरूमध्ये राजेन्द्रबहादुर सिंह फर्जी उद्धारका लागि सिकाउने तथा अनुसन्धानलाई प्रभावित पार्ने धन्दामा संलग्न रहेको प्रहरीले जनाएको छ । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई समेत प्रभावमा पारी सिआइबीलाई पर्यटकको उद्धारसम्बन्धी तथ्यांक नै तोडमोड गर्न लगाएका थिए । कतिसम्म भने ‘कन्सेन्ट फर्म’मा समेत दबाबमा पारेर भविष्यमा हुन सक्ने कानुनी झमेलाको जिम्मेवारीसमेत बिरामी पर्यटकको टाउकोमा पार्ने गरी हस्ताक्षर गराउँदै आएका थिए । सिआइबी स्रोतका अनुसार हेलिकोप्टर कम्पनीहरू एयर डायनिस्टी, माउन्टेन हेली, बेसक्याम्प÷मनाङ एयर अल्टिच्युट एयरको यसमा संलग्नता देखिएको छ ।
फेक रेस्क्युमा संलग्न कम्पनीहरूः
१.एभरेस्ट एक्सपिरियन्स
२.माउन्टेन रेस्क्यु
३.नेपाल चार्टर सर्भिस
४.श्रीद्धि अस्पताल
५.इरा अस्पताल
६.स्वाकन अस्पताल
७.हिमालयन मास्टर्स एडभेन्चर्स
८.रोयल होलिडेज
९.म्याजिक हिमालय ट्रेक
१०.पानोराम हिमालय ट्रेक
११.अल्टिच्युड एयर
१२.स्पिरिच्युल एक्सकर्सन
१३.नेपाल हाइकिङ एडभेन्चर
१४.माउन्टेन हेलिकोप्टर
१५.मनाङ एयर
१६.नेपाल रेस्क्यु एन्ड असिसटेन्स
१७.वल्र्डमेड असिस्टेन्स नेपाल