सिंगापुरमा अवैध रूपमा काम गर्दे आएका ११ नेपाली पक्राउ परेका छन्। गत १० मार्चमा सिंगापुरको जनशक्तिसम्बन्धी मन्त्रालयले गरेको छापामा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेकाहरू २१ देखि ४३ वर्ष उमेरका नेपालीहरू रहेको त्यहाँको अध्यागमनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पर्यटक भिसामा सिंगापुर पुगेका उनीहरूको भिसा अवधि समाप्त भइसकेको थियो। अर्काेतर्फ पर्यटक भिसामा गएर काम गर्न नपाइने कानुनी व्यवस्था छ। त्यसविपरीत उनीहरू विभिन्न कम्पनीमा काम गर्दै आएका थिए। दलालहरूले ती नेपालीलाई रोजगारीको आश्वासनमा सिंगापुर लगेर यसरी फसाएको आशंका गरिएको छ ।
सिंगापुरमा यसरी श्रमसम्बन्धी अनुमतिबेगर काम गर्ने विेदशीलाई ६ महिनासम्म कैद र ६ हजार डलरसम्म जरिवाना हुने कानुनी प्रावधान छ। यसरी अवैध रूपमा बस्दै आएका व्यक्तिलाई काममा लगाउने कम्पनीका सञ्चालकमाथि पनि सिंगापुर सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ।
सिंगापुरले नेपाली नागरिकलाई अन अराइभल भिसा दिदै आएको छ। यस्ता गतिविधि बढेमा उसले यस्तो सुविधासमेत रोक्न सक्ने जोखिम छ।