उदयपुरमा स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

उदयपुरको बेलका नगरपालिकामा गुडिरहेको स्कुल बसबाट खस्दा एक बालकको दुःखद मृत्यु भएको छ।

बेलका नगरपालिका–४, हरिपुर सिसवारीस्थित भित्री सडक खण्ड जहडाबाट हरिपुरतर्फ जाँदै गरेको को १ ख ३५१६ नम्बरको बेलका बोर्डिङ स्कुलको बसबाट खस्दा ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सोही विद्यालयका विद्यार्थी थिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) निरञ्जन थापाका अनुसार बुधबार अपराह्न करिब ४:४० बजे बसबाट खसेर गम्भीर घाइते भएका सफलको घटनास्थलमै ज्यान गएको पुष्टि भएको हो।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि सुनसरीको धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।

प्रहरीले बसचालक बेलका नगरपालिका–८, सिसौलीका ३४ वर्षीय प्रेम तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

सुझावित समाचार