चार वर्षपछि पोखरामा खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजना, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोग र समन्वय, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, पोखरा महानगरपालिका र प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य एवं पोखरा पर्यटन परिषद्को समन्वयमा ५ देखि ७ चैतसम्म प्रतियोगिता हुन लागेको आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।
यसअघि २०औँ संस्करण २३ देखि २५ चैत ०७८ भएकोमा चार वर्षपछि २१औँ संस्करण हुन लागेको आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । यसअघि १९औँ संस्करण भएपछि कोरोनाका कारण रोकिएर दुई वर्षपछि ०७९ मा २०औँ संस्करण भएको थियो । ०७९ मा २०औँ संस्करण भएको र ०७९ मा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा निसिम थापाको निधनपछि सोलो उडान बन्द भएका कारण प्रतियोगिता रोकिएको थियो ।
हाल सोलो उडान खुला भएसँगै प्रतियोगिता हुन लागेको आयोजक नाका अध्यक्ष अनिल केसीले जानकारी दिए । प्रतियोगिताको तयारी करिब ९० प्रतिशत सकिएको केसीले बताए । आयोजकले यसअघि पोखरामै दुईपटक प्याराग्लाइडिङको प्रि–वर्ल्डकप र प्याराग्लाइडिङ एसियन टुरसमेत आयोजना गरिसकेको उनले जानकारी दिए । खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास एंव पर्यटन प्रवर्द्धनसँगै आर्थिक समृद्धिमा टेवा पुर्याउने र नेपाली पाइलटहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य प्रतियोगिताको रहेको उनले बताए ।
तीन विधामा प्रतिस्पर्धा एफएआई क्याटोगरी– २ अन्तर्गत सञ्चालन हुने प्रतियोगितामा एक्युरेसी पुरुष (ओभरअल), एक्युरेसी महिला (ओभरअल) र टिम (ओभरअल) गरी तीन विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सुनीलबहादुर भट्टराईले जानकारी दिए । पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार नगद पाउँदा महिलातर्फ र टिमतर्फका विजेताले ७५, दोस्राले ५० र तेस्रोले २५ हजार नगदसँगै मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामार्फत १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशका प्याराग्लाइडिङ खेलाडीसमेत छनोट गरिने संयोजक भट्टराईले बताए ।
नेपालसहित सात देशका एक सय पाइलटले प्रतिस्पर्धा गर्ने
प्रतियोगितामा नेपालसहित सात देशका एक सयजना पाइलटले प्रतिस्पर्धा गर्ने आयोजक नाका प्रथम उपाध्यक्ष खेमराज आचार्यले जानकारी दिए । आचार्यका अनुसार प्रतियोगितामा नेपालसँगै भारत, चीन, साउदी अरेबिया, उज्वेकिस्तान, इटली र लेबनानका पाइलटहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धीहरूले सराङकोटबाट उडान भरी खपौदीमा अवतरण गर्नेछन् ।
प्याराग्लाइडिङका ६० कम्पनी, पाँच सय पाइलट
व्यावसायिक रूपमा खुलेका प्याराग्लाइडिङ कम्पनीको संख्या हाल ६० रहेको छ । ती कम्पनीहरूमा व्यावसायिक रूपमा उडान भर्नका लागि लाइसेन्स लिने पाइलटहरूको संख्या ३६६ रहेको छ । सँगै अन्य १४० पाइलट गरी पाँच सयको हाराहारीमा पोखरामा पाइलटहरू रहेको नाका महासचिव बलराम आचार्यले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।
प्रतियोगिताका सुरक्षा संयोजक योगेश भट्टराईले खेलाडीको सुरक्षाका लागि आकस्मिक उद्धार टोली, सशस्त्र प्रहरी बल र नेपाली सेनाले मोटरबोट र आवश्यक उद्धार उपकरणसहित सहयोग गर्नेछन् । मौसम पूर्वानुमान र मौसमको अवस्था, हावाको चाप र दिशा, तापक्रमसँगै सम्भावित जोखिम सबै अध्ययन गरेर त्यसबारेमा प्रतिस्पर्धीहरूलाई जानकारी गराएर मात्र खेल सञ्चालन गरिने उनले बताए । सहभागी सबै खेलाडीको अनिवार्य बिमाको व्यवस्थासमेत गरिएको छ ।