चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूलाई निर्वाचन सफल पार्न सहयोग गरेको भन्दै धन्यवाद दिएकी छिन्।

प्रधानमन्त्रीको निमन्त्रणामा नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलगायत बालुवाटार पुगेका थिए।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले नेताहरूको भूमिकाकाे प्रशंसा गर्दै भनिन्, ‘तपाईंहरूले निर्वाचनमा भाग लिइदिनुभयो, चुनावको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक निकास दिन सहयोग गर्नुभयो। यसका लागि धेरै धन्यवाद छ ।’

प्रधानमन्त्रीले निर्वाचनमा विजयी उम्मेदवारहरूलाई बधाई दिँदै पराजितहरूलाई आगामी अवसरका लागि शुभकामना पनि व्यक्त गरिन्।

यसैबिच, नेकपा नेताहरूले पनि निर्वाचन सम्पन्न भई मुलुकले राजनीतिक निकास पाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वको प्रशंसा गरेका छन्।

संयोजक प्रचण्डले निर्वाचन नभएको खण्डमा देश गम्भीर संकटतर्फ जान सक्ने बताएका थिए। ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठुलो दुर्घटनामा जान्थ्यो। तपाईंले देखाउनुभएको साहस र मिहिनेत प्रशंसनीय छ,’ उनले भने।

त्यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री कार्कीप्रति विश्वास व्यक्त गर्दै उनको नेतृत्वले संविधान र व्यवस्थालाई जोगाउने विश्वास रहेको बताएका थिए।

सुझावित समाचार