कास्कीले जिल्लाले प्रधानमन्त्री (पिएम) कप गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताको उपाधि हात पारेको छ। गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा नवलपुरलाई ४८ रनले पराजित गर्दै घरेलु टोली कास्कीले उपाधि हात पारेको हो।
खेलमा टस जितेर ब्याटिङ रोजेको कास्कीले ५० ओभरमा ८ विकेटको क्षतिमा २४० रनको विशाल योगफल तयार गरेको थियो। २४१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदान उत्रेको नवलपुर ४३.२ ओभरमा १० विकेट गुमाएर १९२ रनमा सीमित हुन पुगेको थियो ।
यसअघि सम्पन्न समूह चरणको खेलमा कास्की समूह ‘ए’ को विजेता र नवलपुर उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेका थिए थिए। सेमिफाइनलमा कास्कीले समूह ‘बी’ को उपविजेता तनहुँलाई र नवलपुरले समूह ‘बी’ को विजेता स्याङ्जालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।
कास्कीको जितमा कुमालको शतक
कास्कीलाई उपाधि दिलाउन अर्जुन कुमालको भूमिका विशेष रह्यो । १३१ बलको सामना गरेका कुमालले ९ चौका र १ छक्कासहित १११ रन जोडदै शतक पूरा गरेका थिए। सम्पन्न प्रतियोगितामा कुमालको यो दोस्रो शतक हो । सुभाष भण्डारीले ५३ बलमा ३ चौका र १ छक्कासहित ४२, कृष्ण पौडेलले १४ बलमा ४ छक्कासहित २७, मुस्कान थापाले १६ रन बनाएका थिए।
नवलपुरका लागि कमल परियारले २९ बलमा ४ चौका र २ छक्कासहित टोलीका लागि सर्वाधिक ३८ रन बनाउँदा दीपक डुम्रेले ५१ बलमा ३ चौका र १ छक्कासहित ३६, गौरव विश्वकर्माले ३३ बलमा ४ चौकासहित २६, विज्ञान पाण्डेले ३६ बलमा ४ चौकासहित २६, मुन्ना नेपालीले १५ र आशिष गुरुङले १५ रन बनाए।
खेलमा कास्कीका कृष्ण पौडेलले ९ ओभर खेल्दै ५० रन खर्चेर ४ विकेट हात पार्दा विपिन खत्री र सुभाष भण्डारीले समान २-२, सिब्रिन श्रेष्ठले १ विकेट हात पारे। नवलपुरका अपराजित पौडेल र कमल परियारले समान २-२ विकेट हात पार्दा सुदीप अर्याल र मुन्ना नेपालीले समान १-१ विकेट हात पारे।
प्रतियोगितामा चार खेल खेलेका कास्कीका अर्जुन कुमाल प्लेयर अफ द सिरिजसँगै उत्कृष्ट ब्याटर घोषित भए। उनले दुई शतकसहित ३३७ रन बनाएका थिए। प्रतियोगितामा कुल १२ विकेट हात पारेका कास्कीका विपिन खत्री उत्कृष्ट बलर घोषित भएका थिए। २८ फागुनबाट सुरु प्रतियोगितामा गण्डकीका ६ जिल्लाले प्रतिस्पर्धा गरेका आयोजक संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए।