बर्दिया अस्पतालमा डायलाइसिस सेवा सञ्चालनमा आएपछि मिर्गौला रोगका बिरामीले राहत महसुस गरेका छन् । अस्पतालमा डायलाइसिस सेवा सञ्चालनमा आएपछि नेपालगन्जलगायत ठाउँमा डायलाइसिस गर्न जानुपर्ने बाध्यताको अन्त्य भएपछि मिर्गौला रोगका बिरामीले राहत महसुस गरेका हुन् ।
अस्पतालमा मिर्गौला रोग बिरामीको डायलाइसिस सेवा नि:शुल्क छ । पछिल्लो समय मिर्गौला रोगका बिरामीको समस्या दिनानुदिन बढ्दै गएको पाइएको छ । राज्यले बिरामीको संख्याको आधारमा जनशक्ति र डायलाइसिस मेसिन पुर्याउन सकेको छैन ।
आफ्नो खानपान तथा रहनसहनमा ख्याल नगर्दा मिर्गौला रोगका बिरामीको संख्या बढ्दै गएको छ । विपन्न परिवारलाई आर्थिक अभाव गर्दा उपचार गर्दा पनि सम्पत्ति सकिएर अन्तिममा ज्यान जाने अवस्था देखिएको छ । संघीय सरकारले मिर्गौला रोगका बिरामीका लागि निःशुल्क डायलाइसिस सेवा उपलब्ध गराएको छ ।
ठाकुरबाबा नगरपालिका– २, बलातीकी समिना चौधरीले मिर्गौला रोग बिरामी बुबा बाबुराम थारूलाई डायलाइसिस गर्न मंगलबार र शुक्रबार अस्पताल ल्याउने गरेको बताइन् । उनले भनिन्, ‘विगत एक वर्षदेखि बुबाको डायलाइसिस भइरहेको छ । अस्पतालमा डाइलासिस सेवा सुरु भएपछि सहज भएको छ । तर, बुबालाई आवश्यक पर्ने औषधि बिमामा नपर्दा भने गाह्रो भएको छ । बुबाको डायलाइसिस गुलरियामा गर्दै आएको भए पनि कतिपय औषधि यहाँ नपाइने हुँदा औषधि किन्न नेपालगन्ज जानुपर्ने बाध्यता छ । घरदेखि नजिक स्वास्थ्य उपचार पाएपछि बुबा पनि खुसी हुनुहुन्छ । बुबालाई अस्पताल ल्याउन–लैजान सजिलो भएको छ ।’
बारबर्दिया नगरपालिका– १, जमुना फाँटाका जनक थारूले श्रीमती गीता चौधरीलाई डायलाइसिस गर्न थालेको पनि एक वर्ष भएको बताए । उनले भने, ‘अस्पतालमा डायलाइसिस गर्न पाउँदा सहज भएको छ । घरदेखि आउजाउ गर्न सकिन्छ । तर, अस्पतालमा फिस्टुवा बनाउने सेवा नभएको हुँदा नेपालगन्ज गएर डायलाइसिस गर्न फिस्टुला बनाएको र यहीँबाट डायलाइसिस गर्दै आएको छु । घरबाट नेपालगन्ज, कोहलपुर जाँदा टाढा हुन्थ्यो । बर्दिया अस्पतालमा डायलाइसिस सेवा पाइने भएको हुँदा बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।’
चालू आर्थिक ०८२/८३ मा तीन हजार ५२७ पटक, आर्थिक वर्ष ०८१/८२ मा दुई हजार १३ पटक र आर्थिक वर्ष ०८०/८१ मा २३१ पटक डायलाइसिस सेवा उपलब्ध गराएको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपाने बताए ।
अस्पतालका मेडिकल अधिकृत डाक्टर भरत भण्डारीले मिर्गौला रोग प्रेसर, सुगर र चिकित्सकको सल्लाहविना अनावश्यक दुखाइ कम गर्ने औषधि खाँदा र मद्यपान गर्दा विषादीयुक्त खाना र वंशानुगत कारणले मिर्गौला रोग लाग्ने बताए । उनले भने, ‘समयमा खानपान र आनीबानी सुधार गर्ने, प्रेसर, सुगररोगीले नियमित औषधि सेवन गर्ने र रोगलाई रोकथाम गर्ने गर्नुपर्छ भने स्वास्थ्यमा कुनै समस्या आएमा चिकित्सकको सल्लाहबमोजिम मात्र औषधि सेवन गर्नुपर्छ । यसो गर्न सकेमा मिर्गौला रोग लाग्नबाट बच्न सकिन्छ।’