नवलपुरले उपाधिका लागि कास्कीविरुद्ध खेल्ने

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

नवलपुर जिल्लाले प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताको फाइनल स्थान पक्का गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता स्याङ्जालाई ७२ रनले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । अब मंगलबार नवलपुरले फाइनलमा कास्कीको सामना गर्नेछ । पहिलो ब्याटिङ गरेको नवलपुरले ५० ओभरमा नौ विकेट गुमाउँदै २७० रन बनाएको थियो । स्याङ्जा ४५.२ ओभरमा अलआउट हुँदै १९८ रनमा समेटियो । 

नवलपुरका अनिश गुरुङले ८२ बलमा ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६० रन बनाए । गौरव विश्वकर्माले ६५ बलमा नौ चौकासहित ५२ रन जोडे । प्रमिश अर्यालले ४७ बलमा १० चौकाको मद्दतमा ४७ रन र दीपक डुम्रेले ३३ रनको योगदान दिए ।

स्याङ्जाका लागि सन्देश पन्थीले १०७ बलमा सात चौकाको सहयोगमा ६७ रनको योगदान दिए । सुजन गौतमले ५० बलमा दुई चौका र एक छक्कासहित ३८ रन बनाए । बलिङमा स्याङ्जाका तुलसीराम भण्डारीले तीन र सन्दीप खत्री क्षेत्रीले दुई विकेट लिए । नवलपुरका अपराजित पौडेलले र अनिश गुरुङले समान तीन विकेट हात पारे । 

सुझावित समाचार