प्रि–मनसुन सुरु भएसँगै अपराह्नपछि हावाहुरी, चट्याङ र असिनासहित वर्षाको गतिविधि बढ्न थालेको छ । हावाहुरी र चट्याङबाट २४ घण्टा (आइतबार बिहानदेखि सोमबार बिहानसम्म)मै तीनजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार चट्याङ खस्दा भोजपुरको षडानन्द नगरपालिका– ९, भैँसेकी २५ वर्षीया शर्मिला तामाङको ज्यान गएको छ । घरमै बसिरहेका वेला वर्षासँगै चट्याङ खसेको थियो । त्यस्तै, भोजपुरकै साल्पासिलिछो गाउँपालिका– ५, पिछम्मासोहरामा हावाहुरीका कारण ढुंगा खसेर लाग्दा भोजपुर नगरपालिका– ९, देउरालीका आशिष तामाङको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । त्यस्तै, हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा रुकुम पूर्वको सानीभेरी गाउँपालिका– ५, हाँसुका ५५ वर्षीय धन खत्रीको मृत्यु भएको छ । मिस्त्रीको काम गरेर घर फर्किने क्रममा आइतबार ओखरको रुखको हाँगा भाँचिएर उनलाई लागेको प्रहरीले जनाएको छ ।
यो अवधिमा चट्याङका पाँच र हावाहुरीका १७ घटना भएका छन् । बैतडी, कैलाली, गुल्मी, कास्कीमा पनि चट्याङ खसेको थियो । हावाहुरीका कारण दोलखा, रामेछाप, कैलाली, भोजपुर, जाजरकोट र सुर्खेतमा पनि घरमा क्षति पुगेको छ । त्यस्तै, पाँचथर, झापा, मोरङ, रामेछाप, दोलखा, रुपन्देही, म्याग्दी र कैलालीका आठ ठाउँमा आगलागी भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार फागुन अन्तिम सातादेखि जेठसम्मको यो याममा तापक्रम बढ्ने र अपराह्नपछि वेला–वेला अचानक पानी, हुरी, चट्याङ र असिना पर्न सक्छ । विभागका मौसमविद् डेभिड ढकालले प्रि–मनसुनमा पश्चिमी वायुसँगै स्थानीय वायु पनि विकसित हुने भएकाले मध्याह्नपछि सजग हुनुपर्ने बताए । ‘बिहान पख घाम लाग्छ । दिउँसो अत्यधिक गर्मी बढेपछि अचानक बादल लाग्ने र पानी पर्ने हुन्छ । हावाहुरी र चट्याङको जोखिम बढी हुन्छ,’ उनले भने, ‘त्यही भएर खेतबारी, घरबाहिरका काम बिहान गर्नु उपयुक्त हुन्छ ।’
सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित पानी पर्यो । सबैभन्दा बढी धनकुटामा ३२.२ मिलिमिटर वर्षा मापन भएको छ । आइतबार विभिन्न क्षेत्रमा ठुलो हावाहुरी चल्दा गहुँसहित अन्नबालीमा क्षति गरेको थियो । हावाहुरीसँगै वर्षा हुँदा काठमाडौंसहित देशका मुख्य सहरको वायु प्रदूषण भने घटेको छ । पछिल्लो एक साता काठमाडौंको वायु प्रदूषणको मात्रा जनस्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको थियो । तर, अघिल्लो साता शुक्रबार र शनिबार हल्का वर्षा हुँदा प्रदूषण केही कम भएकामा सोमबार हावाहुरीसँगै पानी परेपछि प्रदूषण अझै कम भएको छ ।
विभागका मौसमविद् डेभिड ढकालको सुझाव–मध्याह्नपछि सजग रहनू प्रि–मनसुनको यो समयमा बिहानपख घाम लाग्छ । दिउँसो अत्यधिक गर्मी बढेपछि अचानक बादल लाग्ने र पानी पर्ने हुन्छ । हावाहुरी र चट्याङको जोखिम बढी हुन्छ । त्यही भएर खेतबारी, घरबाहिरका काम बिहान गर्नु उपयुक्त हुन्छ । मध्याह्नपछि सजग रहनुपर्छ ।