दलित किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाले देशभर आक्रोश चुलिरहेका वेला ताप्लेजुङमा विद्यार्थी सडकमा निस्किएका छन् । न्यायको माग गर्दै पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीले सोमबार सदरमुकाम फुङलिङ बजारमा नाराजुलुस निकाल्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
क्याम्पसबाट सुरु भएको विरोध र्याली फुङलिङ बजारका मुख्य सडक परिक्रमा गर्दै वीरेन्द्र चाेकमा आएर कोणसभामा परिणत भएको थियो । हातमा प्लेकार्ड बोकेका विद्यार्थीले ‘इनिसा विकलाई न्याय दे’, ‘बलात्कारीलाई कडा सजाय दे’, ‘महिलामाथिको हिंसा बन्द गर’जस्ता नाराबाजी गर्दै राज्यले घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कानुनअनुसार कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेका थिए ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिकी अध्यक्षा शिला इजमले इनिसा विकको हत्या केवल एउटा आपराधिक घटना मात्र नभई समाजमा अझै जरा गाडेर बसेको लैंगिक तथा जातीय विभेदको परिणाम भएको बताइन् । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन राज्य गम्भीर हुनुपर्ने धारणा राखिन् । ‘महिला र दलित समुदायमाथि हुने हिंसा बढ्दो चिन्ताको विषय बनेको छ,’ उनले भनिन्, ‘इनिसा विक प्रकरणमा न्याय नपाए समाजमा दण्डहीनताको सन्देश जानेछ, त्यसैले सरकारले छिटो छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्छ ।’
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा केही दिनअघि इनिसा विक मृत अवस्थामा फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । घटनापछि देशका विभिन्न स्थानमा न्यायको माग गर्दै विरोध प्रदर्शन भइरहेका छन् । यसैबिच, ताप्लेजुङका विद्यार्थीले पनि दोषीलाई कडा सजाय नदिइए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।