व्यापारिक फर्मसँग मिलोमतो गरी ७० लाख घुस लिएर राजस्व चुहावटसम्बन्धी छानबिन सामसुम गरेको आरोपमा अख्तियारले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रशासनिक वृत्तमा ‘घुस्याहा’ प्रशासकका रूपमा परिचित अधिकारी सत्ता र शक्तिको पहुँचमा कारबाहीबाट जोगिँदै आएकामा अन्ततः अख्तियारले आइतबार भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका दुई मुद्दा दायर गरेको हो । उनी बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हुन् ।
एचके इन्टरप्राइजेज प्रालिको विभागमा रहेको राजस्व चुहावटसम्बन्धी छानबिन तथा राजस्व चुहावटसम्बन्धी अन्य कसुरबाट बच्न सहजीकरणबापत कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूसँग अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । अधिकारीविरुद्ध ७० लाख बिगो कायम गरी मुद्दा दायर गरिएकामा घुस लेनदेनमा संलग्न ‘द कुटी रिसोर्ट प्रालि’का प्रबन्ध निर्देशक एवं सेयरधनी देवेन्द्र केसीलाई २० लाख र नेपालगन्ज उपमहानगरपालिका– २० का रवीन्द्र लामिछानेविरुद्ध ५० लाख बिगो कायम गरी मुद्दा दायर भएको छ ।
महानिर्देशक अधिकारीसँगको सहमति र निर्देशनबमोजिम २४ साउन ०७९ मा एकै दिन आफू एचके इन्टरप्राइजेज प्रालिको खाताबाट बिज्यूले आफ्नो चिनजान नै नभएको ‘द कुटी रिसोर्ट प्रालि’का कर्मचारीहरू ममता पुरीको नाममा ६ लाख, मिसन लामिछानेको नाममा सात लाख र देवराज अर्यालको नाममा सात लाख गरी घुसबापत २० लाख रुपैयाँका चेक जारी गरेको भेटिएको छ । तीनवटै चेक कर्मचारी अर्यालले सोही दिन महानिर्देशक अधिकारीसँग चिनजान तथा मिलेमतो रहेका कुटी रिसोर्टका प्रबन्ध निर्देशक तथा सेयरधनी देवेन्द्र केसीको लुम्बिनी विकास बैंकको खातामा दाखिला गरिदिएका थिए । उक्त घुस रकम केसीले कुटी रिसोर्ट प्रालिको लुम्बिनी विकास बैंकको दुईवटा खाताको ओभरड्राफ्ट कर्जा र आवधिक कर्जा तिरेर महानिर्देशक अधिकारीसँगको मिलेमतो र मतसल्लाहबमोजिम घुसको स्वरूप परिवर्तन गराएको पुष्टि भएको अख्तियारको दाबी छ । स्रोतको दाबीअनुसार उक्त रिसोर्टमा अधिकारीको समेत सेयर छ ।
त्यस्तै, २७ असोज ०७९ मा एचके इन्टरप्राइजेजको खाताबाट सञ्चालक बिज्यूले महानिर्देशक अधिकारीको घुस व्यवस्थापनमा प्रयोग भएका विकासकुमार चापागाईंको नाममा ५० लाखको चेक जारी गरेको भेटिएको छ । चापागाईंले उक्त चेक बुझी सोही दिन आफ्नो लक्ष्मी बैंकको खातामा दाखिला गरेका थिए । ३० असोजमा उक्त पूरै रकम नरेन्द्रप्रसाद न्यौपानेको नाममा चेक जारी गरी रवीन्द्र लामिछानेलाई हस्तान्तरण गरेका थिए ।
घुसबापतको ५० लाखको उक्त रकमसहित अर्का व्यक्ति कमल खरेललाई बैनाबापत दिएको ३० लाख, ७ भदौमा १२ लाख नगद र १८ लाख चेकलगायतसहितको कुल दुई करोड ६७ लाख लामिछानेले न्यौपानेलाई दिएको देखिएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका– १७ स्थित दिव्यश्वरी आयोजनाभित्रको कित्ता नं. ९९८ को पाँच आना जग्गा खरिद गर्दा भुक्तानी स्वरूप उक्त रकम लामिछानेले न्यौपानेलाई दिन लगाएको तथ्य स्थापित भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यो सबै गरेर ३१ असोजमा दुई करोड २० लाख थैली रकम राखेर लामिछानेका नाममा जग्गा पास भएको देखिएको छ । ‘यसरी श्रीकृष्ण श्रेष्ठ बिज्यूले प्रतिवादी झलकराम अधिकारीलाई दिएको घुस रिसवतबापतको रकम ५० लाख रुपैयाँ रवीन्द्र लामिछानेको नाममा खरिद गरे÷गराएको जग्गामा लगानी गरी घुस रिसवत रकम बैंक तथा वित्तीय संस्था हुँदै जग्गाको स्वरूपमा परिवर्तन गरे÷गराएको तथ्य स्थापित भएको’ अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले घुसको रकम शुद्धीकरण गरेको अभियोगमा अर्को मुद्दा पनि दायर गरेको छ । भ्रष्टाचारजन्य सम्बद्ध कसुरबाट प्राप्त रकमका गैरकानुनी स्रोत लुकाउने उद्देश्यले सम्पत्तिको स्वामित्व र अधिकार छली कुटी रिसोर्टमा २० लाख र रवीन्द्र लामिछानेको नाममा खरिद भएको दिव्यश्वरी आयोजनामा रहेको जग्गामा ५० लाख गरी कुल ७० लाख लगानी गरी सम्पत्ति शुद्धीकरण गरेको दाबी अख्तियारको आरोपपत्रमा छ । अधिकारीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पनि ७० लाख नै बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ ।
कुटी रिसोर्टका केसीलाई २० लाख र जग्गाधनी लामिछानेलाई ५० लाख बिगो छ । अख्तियारले महानिर्देशक अधिकारीलाई घुस दिने एचके इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूलाई भने प्रतिवादी बनाएको छैन । उनलाई मुद्दाको साक्षीका रूपमा मात्रै प्रस्तुत गरेको छ । ‘अनुसन्धानको कामकारबाहीमा सहयोग गर्ने अभियुक्तलाई अनुसन्धान अधिकारीले आफ्नो साक्षीका रूपमा प्रस्तुत गरी निजलाई सजायको मागदाबीमा पूर्ण वा आंशिक छुट दिन सक्नेछ’ भन्ने व्यवस्था भ्रष्टाचार निवारण ऐनको दफा ५५ मा छ । यही व्यवस्थामा टेकेर अख्तियारले साक्षीका रूपमा उनलाई मुद्दाबाट उन्मुक्ति दिएको छ ।
अधिकारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अलग्गै छानबिन पनि अख्तियारले गरिरहेको छ । अख्तियार स्रोतका अनुसार अधिकारीले भ्रष्टाचार गरेर ठुलो रकम आर्जन गरेका छन् । भ्रष्टाचारबाट आर्जित रकम उनले विभिन्न क्षेत्र र व्यवसायमा लगाएका छन् ।
अधिकारीको घुस लेनदेनमा यसरी मुछिए केसी र लामिछाने
एचके इन्टरप्राइजेज प्रालिलाई विभागमा रहेको राजस्व चुहावटसम्बन्धी छानबिन तथा राजस्व चुहावटसम्बन्धी अन्य कसुरबाट बचाउन कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूसँग अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । घुस लेनदेनमा जोडिएका ‘द कुटी रिसोर्ट प्रालि’का प्रबन्ध निर्देशक एवं सेयरधनी देवेन्द्र केसी र नेपालगन्ज उपमहानगरपालिका– २० का रवीन्द्र लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको छ । केसीविरुद्ध २० लाख र लामिछानेविरुद्ध ५० लाखको बिगो कायम गरिएको छ । अधिकारीले घुस लेनदेन मिलाउने काम केसीको कम्पनीमार्फत गरेका थिए । बिज्यूले केसीको कम्पनीका मान्छेहरूको नाममा चेक जारी गरेर अधिकारीलाई घुस दिएका थिए । लामिछाने भने घुसबापत लिएको ५० लाखबाट अधिकारीका लागि भक्तपुरमा पाँच आना जग्गा किनिदिन प्रयोग भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।