उम्मेदवारी दिने २० मध्ये चार डाक्टर मात्रै सांसद

रास्वपाका तीन र कांग्रेसबाट एक निर्वाचित, अधिकांश डाक्टरको सदन यात्रा अधुरै

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ २० जना मेडिकल डाक्टर चुनावी मैदानमा उत्रिएकोमा जम्मा चारजनाले मात्रै चुनावी परिणाम आफ्नो पोल्टामा पार्न सफल भएका छन् । निर्वाचितमध्ये तीनजना (डा. तोसिमा कार्की, ललितपुर ३, डा. लेखजंग थापा, रुपन्देही २ र डा. शम्भुकुमार यादव, सिराहा ३) राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन् । रौतहट २ बाट निर्वाचित कांग्रेसका डा. फिर्दोष आलम पनि सदन यात्रा गर्न सफल बनेका छन् ।

अपरेसन थिएटर र बिरामी उपचारमा खटिने उनीहरूले यसपालि मैदान बदल्ने निर्णय लिएका थिए । तर, चुनावी मैदान सोचेजस्तो सहज भने हुन सकेन । राजनीतिको कठोर मैदानमा अधिकांश डाक्टर असफल भए । चुनावमा पराजय व्यहोरेपछि उनीहरू अन्तत: बिरामीको उपचारमै फर्किने भएका छन् । विभिन्न दलहरूबाट उम्मेदवार सिफारिस भएपछि उनीहरू मतदाता भेटघाट, सभा र घरदैलोमा पुगेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ सात र प्रत्यक्षतर्फ तीन गरी १० जना डाक्टरलाई उम्मेदवार बनाएको थियो । तीनैजना प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । रास्वपाले ‘विज्ञ र प्राविधिकलाई नीति–निर्माण तहमा पुर्याउने’ रणनीतिअनुसार चिकित्सकलाई अघि सारेको थियो । प्रत्यक्षतर्फ ललितपुर ३ बाट डा. तोसिमा कार्की, रुपन्देही ३ बाट डा. लेखजंग थापा र सिराहा ३ बाट शम्भुकुमार यादव चुनावी मैदानमा उत्रिएकोमा तीनजना जनताबाट अनुमोदित भएका छन् । निर्वाचित भएका थापाले आफूले स्वास्थ्य क्षेत्रका समस्या र नीतिगत सुधारलाई केन्द्रमा राख्ने बताए । ‘स्वास्थ्य क्षेत्रका नीतिगत सुधार, मेडिकल शिक्षाको नियमन र पहुँच विस्तार गर्नुपर्नेछ,’ उनले भने, ‘मैले चुनावको एजेन्डामा पनि यसैलाई प्रमुख बनाएको थिएँ ।’ यसपटक चुनावमा अन्य दलहरूले पनि थुप्रै डाक्टर उम्मेदवार अघि सारेका थिए । कांग्रेसले अघि सारेका उम्मेदवारमध्ये डा. फिर्दोष आलम मात्र निर्वाचित भए । डा. सुनील शर्मा मोरङ ३, डा. शेखर कोइराला मोरङ ६, डा. सुवास यादव, सिराहा ३ र डा. सरोजकुमार यादव सर्लाही २ बाट पराजित भए । 

यसपटक स्वतन्त्र रूपमा पनि डाक्टरहरू चुनावी मैदानमा थिए । डा. निकोलस भुसाल रुपन्देही २, डा. अर्चनशमशेर राणा काठमाडौं ४ र डा. धनञ्जयकुमार हाथी महोत्तरी २ बाट उम्मेदवार बनेका थिए । भुसालले चुनावको अन्तिम घडीमा रास्वपा उम्मेदवारलाई सघाएका थिए । उज्यालो नेपाल पार्टीबाट डा. प्रवीन स्याङ्तान मकवानपुर २ र नेकपाबाट डा. आशुतोषविजय पन्त ललितपुर ३ मा उम्मेदवार बनेका थिए । डा. राकेश न्यौपाने काठमाडौं १० र डा. राकेश मण्डल महोत्तरी २ बाट उम्मेदवार बनेकोमा पराजित भए । जसपाबाट मिनाक्षी ठाकुर महोत्तरी ३ र सुरेन्द्रकुमार यादव महोत्तरी ४ बाट पराजित भए । श्रम संस्कृति पार्टीबाट डा. धनबहादुर श्रेष्ठ काठमाडौं १०, प्रलोपाबाट डा. राजनारायण झा महोत्तरी ३ र नेकपाबाट डा. रजनिस राय सर्लाही ४ बाट निर्वाचन लडेका थिए । तर, उनीहरूको सांसद बन्ने यात्रा अधुरै रह्यो । 

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की चिकित्सक निर्वाचित हुँदा स्वास्थ्य क्षेत्रका समस्या सदनसम्म पुर्याउन सहज भएको बताए । ‘विगतमा पनि केही डाक्टरहरू चुनावी मैदानमा उत्रिएर सफल हुनुभएको थियो, यसपटक धेरै उम्मेदवारहरू चुनावी मैदानमा भिडे पनि केहीले चुनाव जित्नुभयो । आशा छ उहाँहरूले स्वास्थ्यको मुद्दालाई सदन र नीतिगत तहसम्म पुर्याउन सहयोग गर्नुहुनेछ,’ उनले भने, ‘स्वास्थ्यका समस्या नीति–निर्माण तहमा पुर्याउन सकेमात्रै स्वास्थ्य क्षेत्र थप सुधार हुन सक्छ ।’ 
 

सुझावित समाचार