आसन्न २०औँ एसियाली खेलकुदको प्रचार–प्रसारका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आयोजना गरेको ‘एसियन गेम्स फन रन’ शनिबार सम्पन्न भएको छ ।
फन रन बिहान एनओसीपरिसरबाट ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यको विशेष उपस्थितिमा राष्ट्रिय गानपछि औपचारिक रूपमा सुरु गरिएको थियो ।
करिब तीन किलोमिटर दूरीको उक्त रन एनओसी भवनबाट सुरु भई ग्वार्को, प्रभात स्कुल, तुलसी, कनिबहाल चोक, लगनखेल हुँदै मंगलबजार पुगेपछि समापन भएको थियो । रनमा खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी तथा खेलप्रेमीको उल्लेख्य सहभागिता थियो ।
मंगलबजारमा सहभागीहरूलाई परम्परागत नृत्यका साथ स्वागत गरिएको थियो । त्यसपछि ‘धिमे बाजा’सहित सांस्कृतिक प्रदर्शनी र नृत्य प्रस्तुत गरिएको थियो । सांस्कृतिक प्रदर्शनीपछि कार्यक्रमलाई सफल बनाउने सबै सरोकारवालालाई प्रमाणपत्र प्रदान गरिएको थियो । अन्त्यमा एनओसी महासचिव राजीव श्रेष्ठको ‘क्लोजिङ रिमार्क’पछि कार्यक्रमको समापन भएको थियो ।
एसियाली खेलकुदको भावना, एकता र सहभागितालाई प्रवद्र्धन गर्ने उद्देश्यले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को पहलमा एसियाका विभिन्न देशमा ‘एसियन गेम्स फन रन’ आयोजना हुँदै आएको छ । नेपालमा यस फन रन तेस्रोपटक आयोजना गरिएको हो । २०औँ एसियाली खेलकुद जापानको आइची नागोया सहरमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुनेछ ।