नेकपा(एमाले) र श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक सांसद चयन गरेका छन्। अन्य दल भने छलफलमै छन्।
रास्वपा, नेपाली कांग्रेस, नेकपा र राप्रपाले भने आइतबार टुंगो लगाउने भएका छन्। निर्वाचन आयोगले आइतबारभित्र सूची बुझाउन भनेको छ। गत साता सम्पन्न निर्वाचनमा ६ दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन्।
एमालेको सचिवालय बैठकले १६ जनाको नाम छनोट गरेको हो । भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, गुरु प्रसाद बराल, पुष्पराज कंडेल, कृपाराम राणा, विष्णुमाया बिके, नीता घटानी, रिङ्ला यादव, यशोधाकुमारी यादव, चन्द्रेश्वर मण्डल र साजिदा सिद्दीकीलाई चयन गरेको हो ।
त्यस्तै, श्रम संस्कृतिले पनि टुंगो लगाएको छ। अध्यक्ष हर्क साम्पाङसहितका पदाधिकारी बैठकले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलितबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूलाई समानुपातिक सांसदमा चयन गरेको हो।
समानुपातिक सूची तय गर्न रास्वपा र कांग्रेसले आइतबार पार्टीको बैठक बोलाएका छन्। नेकपाले पनि आन्तरिक छलफल गरिरहेको छ।
सामानुपातिकमा रास्वपाले ५७, कांग्रेसले २० तथा, नेकपाले ९ र राप्रपाले ४ सिट जितेको छ।
समानुपातिक सांसदलाई प्रमाणपत्र दिएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।