धक्काबाट उठ्न सामूहिक निर्णय : प्रदीप ज्ञवाली

शनिबार, ३० फागुन, २०८२
डिजिटल संस्करण

 नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले चुनावी धक्काबाट उठ्न सामूहिक निर्णय र जवाफदेहिताको प्रस्ताव अघि सारेका छन्। पार्टीपंक्तिलाई सम्बोधान गरेर सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले निर्मम आत्मसमीक्षा गरी समीक्षाका निष्कर्षका आधारमा उचित निर्णय लिने प्रस्ताव अघि सारेका हुन्। 

‘ढल्नु भनेको सकिनु होइन। फेरि उठ्नका लागि तयारी थाल्नु हो । आउनुहोस – फेरि उठ्ने तयारी थालौँ’, उनले लेखेका छन्, ‘यसका लागि समस्या र संकटलाई सामूहिकतामा बोध गरौँ। निर्मम आत्मसमीक्षा गरौँ र समीक्षाका निष्कर्षका आधारमा उचित निर्णय गरौँ। सामूहिक निर्णय र जवाफदेहितालाई स्थापित गरौँ।’

अहिलेको चुनावी धक्काले आफूहरू इतिहासकै कठिनतम बिन्दुमा पुगेको भन्दै यसका कतिपय कारणहरू अनुमान नै गर्न नसकिने खालका रहेको बताएका छन्। ‘यसका धेरै कारणहरू छन्।आन्तरिक छन्। बाह्य पनि छन,’ उनले लेखेका छन्, ‘तीमध्ये कति समयमै ध्यान दिन या सच्याउने सकिने खालका थिए होलान्। कति भने काबुबाहिरका, शक्ति सन्तुलनले नभ्याउने र हामीले अनुमानै गर्न नसक्ने खालका थिए। कतिपय नीतिगत विषय होलान्। कतिपय संरचनागत प्रश्न छन्। शैलीगत कारणहरू छन्। नेतृत्व पंक्ति र व्यक्ति–व्यक्तिका भूमिकाका कारण सिर्जित पनि छन्।’

यी सबैको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा गरे मात्रै यस कठिन समयबाट अगाडि लैजान मार्गदर्शन गर्ने उनको भनाइ छ। यदि समीक्षा नगरेमा संकट झन् गहिरिने भन्दै उनले यो कम्युनिस्ट आन्दोलन मात्र नभएर सिंगै लोकतान्त्रिक आन्दोलनमाथिकै संकट भएको बताए। ‘समीक्षा गरिएन, ‘यो यस्तै हो‘ भनियो या अरूलाई मात्रै दोषारोपण गरियो भने संकट झनै गहिरिँदै जानेछ,’ उनले लेखेका छन्, ‘तर बृहत्तर अर्थमा यो कम्युनिस्ट आन्दोलनको मात्रै होइन, सिंगै लोकतान्त्रिक आन्दोलनमाथिकै संकट हो।’

अहिले मतदाताको बहुसंख्याले एमालेले असत्य र भ्रम भनेको विषयलाई सत्य ठहर्याइदिएको भन्दै आफूहरूले स्थापित गर्न चाहेको सत्यलाई स्थापित गर्न नसकिएको बताए। ‘नयाँ पुस्तासँग हाम्रो संवाद हुन सकेन, विश्वास स्थापित हुन सकेन। यस कुराको परीक्षण हुन, भ्रमको तुवाँलो हट्न र सत्य स्थापित हुन समय लाग्ने भयो,’ ज्ञवालीले लेखेका छन्, ‘हामीले धैर्य गर्नुपर्छ। तर, धैर्य मात्रै गरेर पुग्दैन। सत्य स्थापित गर्न कष्टसाध्य प्रयत्न गरिरहनुपर्छ।’

सुझावित समाचार