राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएर्मो एरेनाले नेपाललाई दक्षिण एसियाली च्याम्पियनसिप (साफ)मा उपाधि दिलाउने बताएका छन् । एन्फा मुख्यालयमा शुक्रबार पत्रकार सम्मेलनमा नवनियुक्त प्रशिक्षक एरेनाले विगतमा भएका गल्तीलाई नदोहोर्याउने प्रतिबद्धता जनाउँदै आफू साफ च्याम्पियनसिप जिताउने लक्ष्यका साथ नेपाल आएको सुनाए । साफ च्याम्पियनसिपमा नेपालको उत्कृष्ट प्रदर्शन नै उपविजेता बन्नु हो । सन् २०२२ मा अलमुतारीको प्रशिक्षणमा नेपालले माल्दिभ्समा भएको साफको फाइनल नतिजा भारतलाई सुम्पिएको थियो ।
‘मेरो लक्ष्य राष्ट्रिय पुरुष टोलीलाई साफ च्याम्पियनसिपको उपाधि जिताउने हो,’ उनले भने, ‘मेरो काँधमा सन् २०२६ सम्म टोली हेर्ने जिम्मेवारी छ । यो अवधिमा साफ नै पहिलो प्राथमिकता हुनेछ ।’ नेपाली टोलीमा सम्भावना बोकेका खेलाडी रहेको उनको भनाइ छ । ‘नेपालमा प्रबल सम्भावना रहेका खेलाडी छन्, विगतका दिनमा भएका कमजोरी र गल्तीलाई नदोहोर्याई अघि बढ्नेछु,’ एरेनाले भने, ‘मेरो पहिलो काम नै टोलीमा सुधार ल्याउने हो ।’
उनले अर्को सातादेखि खेलाडीलाई क्लोज क्याम्पमा राख्ने बताए । ‘सम्भवत: अर्को सातादेखि नै खेलाडी प्रशिक्षणमा आउनेछन्,’ उनले भने, ‘दुई खेल हङकङ र लाओसविरुद्ध छ । समर्थक सधैँ रिजल्ट खोज्छन्, हामी राम्रो नतिजा ल्याएर खुसी बनाउने प्रयास गर्नेछौँ ।’ एन्फाका महासचिव किरण राईले बिहीबार मुख्य प्रशिक्षकका रूपमा एरेनालाई नियुक्तिपत्र दिएका थिए ।
पहिलो खेल हङकङविरुद्ध
एरेनाको पहिलो खेल २६ मार्चमा दशरथ रंगशालामा हङकङविरुद्ध मैत्रीपूर्ण हुनेछ । त्यसपछि नेपालले एसियन कप छनोट लाओससँग खेल्नेछ । लगातार पाँच खेलमा पराजित नेपाल छनोटबाट बाहिरिसकेको छ । मुख्य प्रशिक्षक एरेनाले नेपाली राष्ट्रिय टोलीकै मुख्य प्रशिक्षक बन्द पाउँदा धेरै खुसी भएको बताए । एसिया कप छनोटपछि नेपालले साफ च्याम्पियनसिपमा भाग लिनेछ । ‘म धेरै खुसी छु, नेपाल राष्ट्रिय टोलीको नयाँ प्रशिक्षक बनेको छु,’ उनले भने । एन्फाले अस्ट्रेलियन म्याट रोसले राजीनामा दिएपछि छनोट प्रक्रिया अगाडि बढाएको थियो । मुख्य प्रशिक्षक बन्नका लागि आठ सयभन्दा बढीले आवेदन दिएका थिए । त्यसबाट एन्फाले सर्ट लिस्ट तयार गरी तीनजनालाई अन्तर्वार्ता गरी एरेनालाई छनोट गरेको हो नेपाली खेलाडीमा क्षमता रहेको र राम्रो खेलाडीको संख्या बढाउने उद्देश्य रहेको उनले बताए । ‘नेपाली खेलाडीबारे अध्ययन गरेका छौँ । २०–२५ जना क्षमतावान् खेलाडी छन्,’ उनले भने, ‘हामी त्यो नम्बर बढाउन चाहन्छौँ र भविष्यमा राम्रो टिम बनाउन चाहन्छौँ ।’