जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सुरक्षार्थ राखिएको सुन तथा चाँदीका सामग्री राखिएको सेफलाई कपिलवस्तु संग्रहालयको जिम्मा लगाइएको छ । ०४२ सालअघि फेला परेर संग्रहालयमा राखिएकोमा सशस्त्र द्वन्द्वका समयमा कपिलवस्तु संग्रहालयले २०५८ साल चैत १८ गते ती सुन–चाँदीका सामग्री कपिलवस्तु प्रहरीलाई सुरक्षार्थ जिम्मा लगाएको थियो । सेफभित्र सुरक्षित राखिएको सो खजानालाई सेफको चाबी दुरुस्त अवस्थामा भेटिएपछि कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले कपिलवस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्मालाई हस्तान्तरण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, शमशेर दल गणका प्रमुख सेनानी विदुरध्वज अधिकारी, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल, संग्रहालयका कर्मचारी शंकर घितालको रोहवरमा सो खजानाको सेफ हस्तान्तरण गरिएको छ ।
सेफमा ०४२ सालअघि हाल जिल्लाको शुद्धोधन गाउँपालिका– १, पतरिया (साबिकको पतरिया गाउँ पञ्चायत वडा नं. ५) को सूर्यबलिया र सोहसामा किसानले खेत खन्ने क्रममा सो तीन स्थानमा सो खजाना फेला पारेका थिए । जसमा तामाको भाँडामा राखिएको दुई थान असर्फी, एक थान राज औँठी, एक थान बेरुवा औँठी, दुई थान कढा रहेका छन् । ती करिब २३ तोलाको हाराहारीमा सुनको खजाना रहेको जनाइएको छ ।
यसैगरी ब्रिटिस सरकारको पालाको भिक्टोरियाअंकित ३४ वटा चाँदीको सिक्का र मोहम्मद मुमतिनको पालाको २८ वटा चाँदीका सिक्कासमेत रहेको सेफ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सुरक्षित राखिएको थियो। विगतमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएको पुरातात्त्विक सामग्रीहरू प्राप्त गरेर तत्काल कपिलवस्तु संग्रहालयमा सुरक्षित राख्ने र भविष्यमा संरक्षण संवर्द्धन गरेर संग्रहालयमा प्रदर्शनीमा राखिने कपिलवस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्माले बताइन् । विगतमा सुरक्षाको दृष्टिकोणले प्रहरीमा राखिएको सेफसहितको सुन–चाँदीका सामग्री कपिलवस्तु संग्रहालयलाई हस्तान्तरण गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताएका छन् ।