- थोमस टुचेलको प्रशिक्षणमा रहेको टोलीमा नियमित स्थान बनाउन नसकेपछि केयल वाल्करले १४ वर्षको अन्तर्राष्ट्रिय करिअरबाट लिए बिदा
इंग्ल्यान्डका अनुभवी मिडफिल्डर केयल वाल्करले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । बु्रनेलीका फुलब्याक वाल्करले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ९६औँ क्यापपछि सन्न्यास घोषणा गरेका हुन् । सन् २०११ मा उनले स्पेनविरुद्ध डेब्यु गरेका थिए । यसक्रममा उनले पाँच महत्वपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेले । सन् २०२५ मा वाल्करले सेनेगलविरुद्ध अन्तिमपटक प्रतिस्पर्धा गरेका हुन् । ‘अन्तर्राष्ट्रिय फुटबल यात्रा यहीँबाट विश्राम गरेको छु,’ वाल्करले भने । इंग्ल्यान्डबाट खेल्दा सधैँ गर्व महसुस गरेको बताउँदै उनले सन्न्यासको निर्णय त्यति गाह्रो नभएको बताए । ‘सही समयमा निर्णय लिएँ । यसमा कुनै पछुतो वा दु:ख छैन,’ उनले भने, ‘इंग्ल्यान्डबाट नसोचेको सफलता पाएँ, साथै समर्थकबाट पनि उत्तिकै माया पाएको छु ।’ इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेड, टोटनह्याम र म्यानचेस्टर सिटीबाट प्रतिस्पर्धा गरेका वाल्कर पछिल्लो समयमा ब्रुनेलीबाट खेलिरहेका छन् । अन्तर्राष्ट्रिय फुटबल करिअरमा उनले दुई फिफा विश्वकप तथा तीन युरोपियन फुटबल च्याम्पियनसिप खेले । सन् २०१८ को रसिया विश्वकपमा इंग्ल्यान्डले सेमिफाइनल स्थान सुरक्षित गर्दा उनको प्रदर्शन उच्च रहेको थियो । यसैगरी, उनले सन् २०१६, ०२१ र ०२४ को युरोकप खेलेका थिए । गेराथ साउथगेटले वाल्करलाई टोलीमा प्रमुख खेलाडीका रूपमा समावेश गरेका थिए ।
गेराथको प्रशिक्षणमा इंग्ल्यान्डले ऐतिहासिक रूपमा सन् २०२१ र ०२४ को युरोकपको फाइनलमा स्थान पक्का गरेको थियो । तर, दुवैपटक इंग्ल्यान्ड उपविजेतामै सीमित भयो । युरोपियन च्याम्पियन्स लिगमा लगातार उपविजेतामा सीमित हुँदा गेराथले उनलार्ई उपकप्तानीको जिम्मेवारी दिएका थिए । इंग्लिस टोलीका वर्तमान प्रशिक्षक थोमास टुचेलको प्रशिक्षणमा भने वाल्करले त्यति स्थान बनाउन सकेका छैनन् ।
युवालाई मौका
इंग्लिस टोलीमा वाल्करले खासै मौका पाएका छैनन् । उनले टोलीमा नियमित स्थान बनाउन नसक्दा सन्न्यास लिएको भनेका छैनन् । वाल्करले आगामी दिनमा इंग्ल्यान्डको फुटबल टोली बलियो बनाउनुपर्ने र युवाहरूलाई मौका दिन नै सन्न्यास लिएको जनाएका छन् । इंग्लिस टोलीबाट बाहिरिँदा सकारात्मक सोच राखेको उनको भनाइ छ । ‘नराकात्मक भावनाका साथ सन्न्यास लिएको होइन । म सधैँ सकारात्मक सोच र योजनाका साथ अगाडि बढ्ने व्यक्ति हुँ,’ वाल्करले भने, ‘इंग्ल्यान्ड टोलीमा स्थान बनाउनु नै गर्व हो । अझ मैले धेरै मेजर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएँ ।’ सन् २०२३ मा उनले युक्रेनविरुद्ध महत्वपूर्ण एक गोल गरेका थिए । ‘युक्रेनसँगको खेलमा गरेको गोल सधैँ सम्झनामा रहनेछ,’ उनले भने, ‘लामो समयदेखि इंग्लिस टोलीलाई एउटा दिशा दिने प्रयास गरेको थिएँ, इंग्लिस समर्थकले पनि यस्तै सपना देखे । हामीले पनि उनीहरूको चाहनाअनुसार खेल्यौँ र सफलता पनि दिलायौँ ।’
कप्तान ह्यारी केनका सारथि
अहिले इंग्लिस टोलीको कमान्ड ह्यारी केनको काँधमा छ । ह्यारीले कप्तानी गरेपछि नै इंग्लिस फुटबलको खेल्ने शैली परिवर्तन भएको थियो । सन् १९६६ पछि इंग्ल्यान्डलाई मेजर फुटबल प्रतियोगिताको फाइनलमा स्थानसमेत उनले दिलाए ।
यसमा ह्यारीको मात्र योगदान नभएर मिडफिल्डर वाल्करको भूमिमा उत्तिकै छ । चेल्सीका रेस जेम्सले ह्यारीलाई पछिल्लो समयमा मैदानभित्र र बाहिर साथ दिइरहेका व्यक्ति नै वाल्कर भएको बताए । ‘यदि वाल्करको प्रदर्शन बिर्सिने हो भने इंग्ल्यान्डले लगातार दुईपटक युरोकपको फाइनलमा स्थान बनाउन सक्दैनथ्यो,’ जेम्सले भने, ‘वाल्करको सन्न्यासले इंग्ल्यान्डको एउटा युग समाप्त भएजस्तो लाग्छ । अहिले इंग्लिस टोलीको राइट ब्याक हेर्ने उनीजति राम्रा खेलाडी छैनन् ।’ १४ वर्षको अन्तर्राष्ट्रिय फुटबल करिअरमा वाल्कर कहिल्यै फिटनेसका कारण बाहिरिनुपरेन । ‘यो डेढ दशक इंग्ल्यान्डबाट खेलेको खेलाडीको तथ्यांक हेरेका छौँ ।
वाल्करजति फिटनेसमा ध्यान दिने खेलाडी छैनन्,’ जेम्स भन्छन्, ‘मैदानमा उनको उपस्थिति सधैँ उच्च हुन्छ ।’ सन् २०१८ को फिफा विश्वकप सेमिफाइनलमा इंग्ल्यान्ड क्रोएसियाबाट पराजित भएको थियो । प्रशिक्षक साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड सन् २०२१ को युरोकप फाइनलमा इटाली तथा सन् २०२४ को युरोकपकै फाइनलमा स्पेनबाट पराजित भयो ।
६ पटक प्रिमियर लिग विजेता
व्यावसायिक फुटबल करिअरमा वाल्करले म्यानचेस्टर सिटीबाट ६ पटक इंग्लिस प्रिमियर लिग जितेका छन् । यसैगरी एकपटक च्याम्पियन्स लिग, दुईपटक एफए कप तथा चारपटक लिग कप उनले हात पारेका छन् । इंग्लिस टोलीमा रहँदा उनले फाबियो कापेलो, रोय हड्सन, साउथगेट तथा थोमससँग काम गर्न अवसर पाए ।