सन् ६२४ : ‘बदर युद्ध’मा भर्खरै मुस्लिम धर्म प्रवर्तन गरेका मुहम्मदको फौजले मक्काको सेनाविरुद्ध निर्णायक जित हासिल गर्यो । यही युद्धपछि इस्लाम धर्म अरब प्रायद्वीपमा मुख्य शक्तिका रूपमा स्थापित भयो ।
सन् १६३९ : अमेरिकाको म्यासाचुसेटमा भर्खरै खोलिएको क्याम्ब्रिज कलेजले आफ्ना मुख्य दाता पादरी जोन हारवार्डको नाममा कलेजको नाम हारवार्ड कलेज (हाल हारवार्ड विश्वविद्यालय) राख्यो ।
सन् १७७८ : अमेरिकी स्वतन्त्रता संग्रामका क्रममा अमेरिकासँग गठबन्धन गरेको खुलेपछि बेलायतले फ्रान्सविरुद्ध युद्ध घोषणा गर्यो ।
सन् १७८१ : खगोलशास्त्री फ्रेडरिक विलियम हर्सचेलले युरेनस (अरुण) ग्रह पहिचान गरे, जसलाई उनले सुरुमा पुच्छ्रेतारा ठानेका थिए ।
सन् १८५२ : अमेरिकालाई चिनाउन प्रयोग हुने कार्टुन ‘अंकल स्याम’ पहिलोपटक यसै दिन ‘न्युयोर्क ल्यान्टर्न’मा छापियो ।
सन् १८८१ : रुसी क्रान्तिकारीले बम हानेर देशका राजा (जार) अलेक्ज्यान्डर द्वितीयको हत्या गरे ।
सन् १९३३ : महामन्दीपछि बैंकमाथि गुमेको विश्वास जगाउन तत्कालीन राष्ट्रपति फ्य्रांकलिन डी रुजबेल्टले गरेको ‘बैंक होलिडे’पछि यो दिनबाट पुन: बैंकहरू खुल्न थाले ।
सन् १९३८ : नाजी जर्मनीले छिमेकी जर्मनभाषी देश अस्ट्रियालाई औपचारिक रूपमा आफूमा गाभ्यो ।
सन् १९४० : फिनल्यान्ड–रुसले एक युद्धविराममा हस्ताक्षर गर्दै दुई देशबिचको तनाव अन्त्य भयो, तथापि सम्झौताअन्तर्गत फिनल्यान्डले ११ प्रतिशत भूमि रुसलाई दिएको थियो ।
सन् १९७४ : ‘योम किपुर युद्ध’मा इजरायललाई समर्थन गरेको आरोपमा अमेरिकामाथि अरब मुलुकले लगाएको तेल नाकाबन्दी पाँच महिनापछि यसै दिनबाट खुलाइयो ।
सन् १९९७ : मदर टेरेसाको निधन भएको ६ महिनापछि उनी नेतृत्वको ‘मिसिनरी अफ च्यारिटी’की प्रमुखका रूपमा नेपाली मूलकी सिस्टर निर्मला चुनिइन् ।
सन् २०१२ : छापिन सुरु भएको २४४ वर्षपछि ‘इन्साइक्लोपेडिया ब्रिटानिका’ले पुस्तक छाप्न बन्दै गर्दै डिजिटल संस्करण मात्र प्रकाशित गर्ने घोषणा गर्यो ।
सन् २०१३ : अर्जेन्टिनी क्याथोलिक कार्डिनल ‘जोर्ज मारियो बर्गोग्लियो (पोप फ्रान्सिस)’ नयाँ पोप चुनिए, जो हजारौँ वर्षको इतिहासमा पहिलो ल्याटिन अमेरिकी पोप थिए ।