तेल संकटका कारण पाकिस्तानमा विद्यालय बन्द, अधिकांश काम अनलाइनबाट

मंगलबार पेट्रोलको मूल्य एकैपटक ५५ पाकिस्तानी रुपैयाँले बढ्यो

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

इरानयुद्ध प्रभाव

इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आएपछि पाकिस्तान पनि प्रभावित बनेको छ । यसको असर कम गर्न सरकारले सोमबारदेखि आपत्कालीन खर्च कटौती तथा इन्धन बचाउने कदम अपनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले सोमबार राति राष्ट्रको नाममा गरेको टेलिभिजन सम्बोधनमा उक्त कदमको घोषणा गरिएको थियो । खाडी देशले उत्पादन भएर बाहिरिने साँघुरो जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध आउँदा पाकिस्तानको अर्थतन्त्रलाई प्रत्यक्ष असर गरेको सरिफले बताए ।

‘सम्पूर्ण क्षेत्र हाल युद्धको अवस्थामा छ, हामी अछुतो रहन सक्दैनौँ,’ सरिफले सम्बोधनमा भने । पाकिस्तान सरकारले इन्धन बचाउन सरकारी कर्मचारीको काम गर्ने अवधि हप्तामा चार दिनमा झारेको छ । त्यस्तै मार्च १६ देखि महिनाको अन्त्यसम्म सम्पूर्ण विद्यालय बन्द गरिएको छ । तथापि, यस अवधिका लागि पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

त्यस्तै, विश्वविद्यालयलाई अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ । हप्ताको चार दिन पनि ५० प्रतिशत सरकारी कर्मचारीले घरबाटै काम गर्ने साथै बैंकिङ क्षेत्रमा पनि यही व्यवस्था सिफारिस गरेको सरिफले बताए ।

खर्च कटौतीका उपायअन्तर्गत संघीय र प्रान्तीय मन्त्रिपरिषद्का सदस्यले आगामी दुई महिनाको तलब र भत्ता त्याग्ने विषय पनि समावेश छ । संघीय र प्रान्तीय व्यवस्थापिकाका सदस्यको तलबमा पनि यस अवधिमा २५ प्रतिशत कटौती गरिने बताइएको छ । उच्चपदस्थ सरकारी पदाधिकारीका अत्यावश्यकबाहेकको विदेश भ्रमण रद्द गरिएको छ भने भ्रमण पनि सस्तो ‘इकोनोमी क्लास’मा मात्र विदेश भ्रमण गर्न पाइनेछ ।

त्यस्तै, संघीय र प्रान्तीय सरकारका सबै बैठक अब अनलाइन सञ्चालन गर्नुपर्नेछ भने सरकारी कार्यालयको इन्धन भत्ता पनि घटाइएको छ । त्यस्तै, सरकारले मानिसलाई सामाजिक जमघट सकेसम्म रोक्न आह्वान गर्दै सरकारले विवाह र पार्टीमा २०० भन्दा बढी पाहुना नथप्न भनिएको छ ।

पाकिस्तानले आफ्नो तेल आवश्यकताको ८० प्रतिशतभन्दा बढीको आयात गर्छ । जुलाई २०२५ र फेब्रुअरी २०२६ को बिचको अवधिमा यसको तेल आयात कुल १०.७१ अर्ब डलर थियो । मध्यपूर्वको संकटपछि उत्पन्न ऊर्जा संकटपछि पाकिस्तानमा इतिहासकै सबैभन्दा ठुलो इन्धन मूल्यवृद्धि भएको छ ।

मंगलबार पेट्रोलको मूल्य एकैपटक ५५ पाकिस्तानी रुपैयाँले बढ्यो । तलब कटौतीजस्ता उपायले मुख्यतया सार्वजनिक वित्तलाई असर गर्ने र राष्ट्रिय इन्धन प्रयोग घटाउने प्रधनमन्त्री सरिफले बताए । 

सुझावित समाचार