मिर्गौला र कलेजो बिग्रनेको संख्या बढ्दो

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

सन्दर्भ : विश्व मिर्गौला दिवस

  • प्रत्यारोपणका लागि अस्पतालमा पालो कुर्नेको भिड, प्रत्यारोपणको सबैभन्दा बढी भार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गर्न तीन सय र कलेजो प्रत्यारोपणका लागि १६० बिरामी पर्खाइमा छन् । नियमित डायलाइसिस र औषधि सेवनले शरीर गलेका उनीहरू प्रत्यारोपण गर्न आतुर छन् । तर, सीमित स्रोत–साधनका कारण सबै बिरामीको अंग प्रत्यारोपण प्रक्रिया तत्काल थाल्न सम्भव नभएको अस्पताल बताउँछ । सबैभन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गर्दै आइरहेको केन्द्रले नै प्रत्यारोपणको भार खेपिरहेको छ । 

केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना श्रेष्ठले नेपालमा हुने अंग प्रत्यारोपणमध्ये दुईतिहाइ प्रत्यारोपण केन्द्रले नै गर्ने गरेको बताइन् । उनका अनुसार केन्द्रले वार्षिक दुई सयको अंग प्रत्यारोपण गर्छ । तर, केन्द्रको आफ्नै भवन छैन, आफ्नै भवन भयो भने पाँच सय प्रत्यारोपण गर्न सकिने डा. श्रेष्ठको भनाइ छ । 

‘पर्खाइमा बस्ने बिरामी पनि उत्तिकै हुनुहुन्छ, दैनिक एकजनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । जहाँ बिरामीको जटिल प्रत्यारोपण भइरहेको छ, त्यहाँ सरकारले चासो दिएको छैन,’ उनले भनिन्, ‘यस्तो प्रकारको अस्पतालको पूर्वाधार राम्रो भए बिरामीलाई सहज हुन्थ्यो ।’ 

शरीरको अंगले काम गर्न नसक्ने भएपछि अंग प्रत्यारोपणका लागि अस्पतालमा पालो कुर्नेको लामो सूची छ । सीमित अस्पतालहरूमा मात्रै प्रत्यारोपण सेवा हुँदा र प्रक्रिया झन्झटिलो हुँदा बिरामीहरू लामो समयसम्म पालो कुर्न विवश छन् ।

हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १४ बिरामी मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् । कलेजो प्रत्यारोपणका लागि कुर्ने बिरामी एकजना मात्रै रहेको अस्पतालले जनाएको छ । मिर्गौला मात्रै प्रत्यारोपण हुने वीर अस्पतालमा १० जना लाइनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ, प्रादेशिक अस्पताल सुर्खेतमा ६, भेरी प्रादेशिक अस्पतालमा पाँच बिरामीले मिर्गौला प्रत्यारोपणको पालो कुरिरहेका छन् । 

अंग प्रत्यारोपणका लागि निजी अस्पतालमा पनि बिरामी पर्खाइमा छन् । ललितपुरस्थित मेडिसिटी अस्पतालमा आठजना मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् । किस्ट मेडिकल कलेजमा सात बिरामी मिर्गौला र तीनजना कलेजो प्रत्यारोपणको पर्खाइमा छन् । काठमाडौं मेडिकल कलेज (केएमसी)मा तीनजना कलेजो र ११ जना मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् । अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले अंग प्रत्यारोपणको प्रक्रिया नै झन्झटिलो भएकाले पालो कुर्ने बिरामीको संख्या बढ्दै गइरहेको बताए । बी एन्ड बी, नर्भिक, ग्रान्डी र सुमेरु अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण हुन्छ । तर, यी अस्पतालले लाइनमा रहेका बिरामीको तथ्यांक दिन मानेनन् । 

आफैँमा कठिन मानिने प्रत्यारोपणपछि नयाँ जीवन पाउने आशामा बिरामी एक वर्षसम्मको पालो कुरिरहेका छन् । डोनर नपाउने, पाए पनि म्याचिङ नगर्ने तथा रक्त समूह नमिल्ने, झन्झटिलो कानुनी प्रक्रिया, आर्थिक अभावलगायत समस्या अंग बिग्रिएकाले झेल्दै आइरहेका छन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो समय अंग प्रत्यारोपण गर्नेको संख्या बढ्दै गएको बताए । ‘अंग प्रत्यारोपण गर्न पहिले विदेश जान्थे, अहिले विदेशभन्दा नेपालमा प्रत्यारोपण गराउँछु भन्नेहरू धेरै छन्,’ उनले भने, ‘देशभर पाँच अस्पतालमा कलेजो र एक दर्जनजति अस्पतालमा मिर्गौला प्रत्यारोपण हुन्छ, यो निजी र सरकारी दुवै अस्पतालतर्फको तथ्यांक हो । दुवैतर्फ गरी वार्षिक देशभर करिब आठ सयजनाको मिर्गौला र सयजनाको कलेजो प्रत्यारोपण हुन्छ, तर पर्खाइमा बस्नेको सूचीअनुसार यो पर्याप्त होइन ।’ 

भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपणका लागि पालो पर्खिनेको संख्या पाँच महिनाअघि भन्दा अहिले कम भएको छ । पाँच महिनाअघि एक हजार बिरामी मिर्गौला प्रत्यारोपण गर्ने पालोमा बसेका थिए । तर, हाल उक्त संख्यामध्ये केही घटेको हो । केन्द्रका अनुसार मस्तिष्क मृत्युबाट हुने अंगदानमा अलि सुधार भएको छ । अझ यसमा बढी जोड दिने हो भने सुधार हुने प्रत्यारोपणविद् बताउँछन् । धेरै त मिर्गौला नमिलेर नै लामो समय पालोमा बस्नेहरू रहेको केन्द्रले जनाएको छ ।

सहिद धर्मभक्तमा मात्रै मिर्गौला प्रत्यारोपणका लागि तीन सय र कलेजोका लागि १६० बिरामी पर्खाइमा 
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंग प्रत्यारोपणका लागि पालो कुर्र्ने बिरामीको सूची निकै लामो छ । मिर्गौला प्रत्यारोपणका लागि ११ कात्तिकसम्मको तथ्यांक हेर्दा डोनरसहित उपस्थित भएका ११२ बिरामी पर्खाइमा छन् । यी बिरामी सबै प्रकारको चेकजाँच गरेर लिने तयारीमा बसेका हुन् । तर, यी सबैको मिर्गौला प्रत्यारोपण गरिसक्न एक वर्ष लाग्ने केन्द्रले जनाएको छ । 

त्यस्तै, ब्रेन डेथबाट आएको मिर्गौला प्रत्यारोपणको पर्खाइमा बसेका बिरामी १९२ जना छन् । उनीहरूको मिर्गौला प्रत्यारोपण गर्ने विभिन्न प्रक्रिया नमिलेको र डोनर नभेटिएका कारण ब्रेन डेथबाट आएको मिर्गौला लिन पर्खिएका हुन् । डोनर भेटिएका र सबै प्रक्रिया मिलेका बिरामीको तुलनामा ब्रेन डेथको मिर्गौला कुरिरहेका बिरामीको अंग प्रत्यारोपण गर्न एक वर्षभन्दा बढी लाग्ने केन्द्रले जनाएको छ । ब्रेन डेथबाट आएको मिर्गौला कुरिरहेकामध्ये ३१ जना तत्काल लिन सक्ने गरी तयारीमा बसेका छन् । 

केन्द्रमा कलेजो प्रत्यारोपणका लागि पालो कुर्नेको संख्या पनि ठुलो छ । हाल ३१ जना बिरामी डोनर र अन्य तयारीसहित पालोमा बसेका छन् । ब्रेन डेथबाट आएको कलेजो लिने प्रतीक्षामा ८४ बिरामी छन् । यीमध्ये अधिकांशले डोनर नपाएको र आफन्तसँग म्याचिङ नगरेका कारण ब्रेन डेथ कुरिरहेका हुन् । केन्द्रले दिनमा औसतमा तीनजनासम्ममा मिर्गौला प्रत्यारोपण गर्छ । तर, सबै प्रक्रिया नमिले योभन्दा कम संख्यामा पनि प्रत्यारोपण हुन्छ । बिरामीको सबै प्रक्रिया मिल्यो भने दैनिक औसत एकजनामा ट्रान्सप्लान्ट गर्दै आइरहेको छ ।

यी अस्पतालमा हुन्छ मिर्गौला र कलेजो प्रत्यारोपण
हाल नेपालमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, महाराजगन्ज त्रिवि शिक्षण, वीर, किस्ट मेडिकल कलेज, बी एन्ड बी, मेडिसिटी, नर्भिक, केएमसी, ग्रान्डी, सुमेरु, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल सुर्खेत, भेरी प्रादेशिक अस्पताललगायतमा मिर्गौला प्रत्यारोपण हुन्छ । सहिद धर्मभक्त, त्रिवि शिक्षण, मेडिसिटी, केएमसी र किस्ट मेडिकल कलेज कलेजो पनि प्रत्यारोपण हुन्छ ।

शिक्षण अस्पतालमा १३ र वीरमा १० जना मिर्गौला प्रत्यारोपणको पर्खाइमा 
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला र कलेजो दुवै प्रत्यारोपण हुन्छ । अस्पतालले उपलब्ध गराएको तथ्यांकअनुसार हाल मिर्गौला प्रत्यारोपणका लागि १३ र कलेजो प्रत्यारोपण गर्न एक बिरामी पर्खाइका छन् । अस्पतालले एक वर्षमा १८ जनाको कलेजो र ७० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । कलेजो प्रत्यारोपणका लागि कुर्नुपर्ने अवस्था नभए पनि मिर्गौलाका लागि भने कुर्नुपर्ने अवस्था रहेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराले बताए । मिर्गौला प्रत्यारोपण गर्नुपूर्व कानुनी प्रक्रियालगायत अन्य जाँच प्रक्रियासमेत पूरा गरी १३ बिरामी पर्खाइमा बसेका हुन् । 

‘सीमित स्रोत–साधनका कारण अस्पताल आएका सबै बिरामीको छोटो समयमै प्रत्यारोपण सम्भव छैन, कतिपयको चेकजाँच गर्दागर्दै ढिलो हुन्छ, कतिले डोनर ल्याउन नसक्दा कुर्नुपर्छ,’ उनले भने, ‘अंग फेल भएर आएका कतिपयको अस्पताल आउनुपूर्व नै ज्यान जाने गरेको छ ।’ 

वीर अस्पतालमा मिर्गौला मात्रै प्रत्यारोपण हुन्छ । हाल १० बिरामी मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् । वीरमा सातामा एक दिन मात्रै प्रत्यारोपण हुन्छ । सातामा एउटा प्रत्यारोपण गर्दा पालोमा बस्नेहरूको संख्या बढ्दै गइरहेको छ । एउटा मिर्गौला प्रत्यारोपणका लागि एउटा बिरामीलाई तयार पार्न दुई महिनासम्म समय लाग्ने अस्पतालका चिकित्सक अरुण सेढाईंले बताए । ‘प्रत्यारोपणको प्रक्रिया लामो छ, दिने र लिनेको सबै मिल्नुपर्छ, क्रस म्याचिङ गर्न समय बढी लाग्छ,’ उनले भने ।

यसकारण बिग्रन्छ मिर्गौला र कलेजो 
सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रका पूर्वकार्यकारी निर्देशक तथा प्रत्यारोपणविज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार मधुमेह, उच्च रक्तचाप, पत्थरी, पिसाबको अवरोधलगायत कारण अंग बिग्रने क्रम बढ्दो छ । पछिल्लो समय जटिल रोग निम्त्याउने मुख्य कारक आधुनिक खानपान हो । खानपानमा ध्यान नदिँदा मधुमेह र उच्च रक्तचापका बिरामी थपिँदै छन् । 

‘खानपानमा ध्यान दिने र शरीर नियन्त्रणमा राखियो भने यस्तो रोगबाट बच्न सकिन्छ,’ उनले भने, ‘वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्ने, शारीरिक व्यायाम गर्ने, जथाभावी औषधि सेवन नगर्ने, धूम्रपान र मद्यपान सेवन नगर्ने हो भने अंग बिग्रने तथा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ ।’ 

मेडिसिटी अस्पतालका जिआइएन डाइजेस्टिभ डिजिज सर्जन डा. सुनील शर्मा ढकालले मिर्गौला बिग्रने मुख्य कारण पानी प्रशस्त नपिउने, ब्लडप्रेसर, सुगर र युरिक एसिडका बिरामी रहेको बताए । ‘पछिल्लो समय मिर्गौला बिग्रनेहरू खाडी मुलुक तथा वैदेशिक रोजगारीमा गएकाहरू छन्, गर्मी ठाउँमा पानी नपिउने बानीले मिर्गौला बिग्रन्छ,’ उनले भने, ‘त्यसबाहेक सुगर, ब्लडप्रेसर र युरिक एसिडका बिरामीको मिर्गौला बढी बिग्रिने गरेको छ ।’

निजी अस्पतालमा विदेशी नागरिकको अंग प्रत्यारोपण 
पछिल्लो समय नेपालमा अंग प्रत्यारोपण गराउन विदेशबाट आउनेको संख्या पनि बढ्दो छ । सम्बन्धित देशको दूतावासबाट अनुमति लिएर निजी अस्पतालमा मिर्गौला र कलेजो प्रत्यारोपणका लागि बंगलादेश, पाकिस्तान, युगान्डा, म्यानमारलगायत देशबाट नागरिक आउने गरेका छन् । नर्भिक, मेडिसिटी, केएमसी, ग्रान्डी, बी एन्ड बीलगायत अस्पतालले चर्को पैसा लिएर प्रत्यारोपण गर्ने गरेका छन् । 

‘यो विषय निकै गम्भीर हो, नेपालीको अंग प्रत्यारोपण गर्न छाडेर केही निजी अस्पतालले विदेशी नागरिकमा अंग प्रत्यारोपण गराउने गरेका छन्, मोटो रकम लिएर विदेशीलाई अंग प्रत्यारोपण गर्न निजी अस्पतालहरू पल्किएका छन्,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘अब यसमा अनुगमन गर्नुपर्ने वेला आएको छ, नेपालीले अंग प्रत्यारोपणका लागि भौँतारिनुपरेको छ, तर निजीले विदेशीबाट बढी पैसा असुल्न नेपालीलाई पर्खाइमा राख्छन्, विदेशीले जस्तो डोनर ल्याए पनि यहाँको कानुनले छेक्दैन, दूतावासको लेटर मात्रै भए हुन्छ, तर नेपालीलाई कानुनले छेक्छ ।’ 
 

सुझावित समाचार