बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरिएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ क्षेत्रमा दादुराको संक्रमण फैलिएपछि यसको नियन्त्रणका निम्ति खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
ढोरपाटन नगरपालिका क्षेत्रका १० वर्षदेखि १९ वर्ष सम्मका ६ हजार ७६३ बालबालिका र किशोरकिशोरीलाई खोप लगाउने तयारी थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ जनाएको छ । खोप अभियान यही फागुन २९ गतेदेखि चैत १ गतेसम्म सञ्चालन गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक प्रमुख प्रवीण शर्माले जानकारी दिए । शर्माका अनुसार तत्काललाई दादुरा नियन्त्रण गरी थप फैलन नदिनका लागि नगरपालिकाभित्रका सबै वडाका १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीलाई दादुराको खोप प्रदान गर्न लागिएको छ ।
किशोरकिशोरीसहित उपचारमा संलग्न रहेका २३७ स्वास्थ्यकर्मीलाई समेत दादुराविरुद्धको खोप लगाउने तयारी थालिएको शर्माले जानकारी दिए । यस क्षेत्रमा दादुरा रोगका शंकास्पद ७४ जना बिरामी फेला परेका थिए । जसमध्ये ३२ जनाकाे भर्ना भएर उपचार भइसकेको छ । सातजना बालबालिका अझै उपचाररत रहेका छन् । दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका– ८, बोबाङ स्वास्थ्य चौकीमा आइसोलेसन तयार गरेर उपचार भइरहेको छ ।
खोप सञ्चालनका निम्ति ढोरपाटन नगरपालिकाका सबै स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका खटिनेछन् भने अपुग स्वास्थ्यकर्मी छिमेकी गाउँपालिका बडिगाड र निसीखोलाबाट समेत खटाइएको छ । स्वास्थ्य संकटग्रस्तका रूपमा लिएर संक्रमितको खोजतलास र उपचारसँगै दादुरा नियन्त्रणका लागि खोप लगाउने तयारी गरिएको हो ।
फागुन ८ गते ढोरपाटनमा एकजनालाई दादुरा संक्रमण भएको पुष्टि भएको थियो । त्यसयता थप पाँचजनामा संक्रमण पुष्टि भए पनि अन्यलाई लक्षण देखिएकाले नियन्त्रणको योजना ल्याइएको हो ।
शंकास्पद बिरामीको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीको आइसोलेसनमा उपचार गरिएको छ । हावाबाट सर्ने दादुराको संक्रमणबाट मानवीय क्षति हुन नदिन र समयमै उपचार गराउनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप पठाएको छ । बुर्तिबाङ अस्पतालमा ३० वटा बेड, औषधि र आवश्यक सामग्री स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले व्यवस्थापन गरी पठाएको थियो ।
गाउँगाउँमै पुगेर नमुना संकलन, परीक्षण र शंकास्पदलाई अस्पतालमै राखेर उपचार सुरु गरेका कारण छिट्टै नियन्त्रण गर्न सकिने अपेक्षा राखिएको छ । अधिकांश बिरामीलाई ज्वरो, खोकी र शरीरमा बिबिरा आउने गरेको पाइएको छ । नेपाल सरकारले सन् २०२६ भित्रै दादुरा रुबेलालाई ‘जनस्वास्थ्य समस्या नरहेको बनाउने’ अभियानलाई ढोरपाटनमा जोडेको हो ।
बागलुङमा सन् २०२२ मा गलकोट नगरपालिकामा एकजनालाई दादुरा संक्रमण देखिएको थियो । सन् २०२४ मा निसीखोला गाउँपालिकामा एकजनामा संक्रमण देखिएको थियो ।
दादुरा संक्रमण नियन्त्रणका लागि खोप नै सबैभन्दा उत्तम उपाय भन्दै ढोरपाटनका १० देखि १९ वर्ष उमेर समूहका सबै बालबालिकालाई तत्काल खोप लगाउन थालिएको हो ।