एनआरएनए अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी दर्ता

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्। मार्च १४ देखि १६ सम्म हुने संघको १२औँ महाधिवेशनका लागि डा. शर्माले बुधबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन समितिले बुधबार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न समय तोकेको थियो। डा. शर्मा हाल संघको कार्यसमितिको उपाध्यक्ष छन्। एनआरएनएको १२औँ विश्व सम्मेलनलाई लक्षित गर्दै उनले संघलाई अझ सान्दर्भिक, प्रभावकारी र समावेशी बनाउन समयानुकूल रूपान्तरण गर्ने योजनाका साथ उम्मेदवारी दिएको बताएका छन्।

विगत केही वर्षयता केन्द्रीय नेतृत्वबिच अनावश्यक विभाजनको कारण गैरआवासीय नागरिकता कार्यान्वयनसहित एनआरएनएसम्बन्धी मुद्दाहरू ओझेलमा परेको उनको बुझाइ छ। शर्माले संघकै अस्तित्व संकटमा पर्ने अवस्था आउन सक्ने आशंका व्यक्त गरे।

संघभित्रको खिचातानीका कारण पेसागत समुदाय र दोस्रो पुस्ताको सहभागिता लगभग शून्य रहेको उल्लेख गर्दै उनले भने, ‘आजसम्म पनि संघमा २५ भन्दा कम गैरआवासीय नेपालीलाई मात्रै आबद्ध गराउन सकेका छौँ। यसै सन्दर्भमा, हालै भएको बृहत् एकताको सहमतिलाई तार्किक निष्कर्षमा पुर्याउनु संघको दीर्घकालीन स्थायित्व र प्रभावकारिताका लागि अपरिहार्य देखिन्छ।’

डा. शर्माले दश निर्देशनात्मक सिद्धान्तको आधारमा एनआरएनएको रिब्रान्डिङ गर्दै पुस्तौँसम्म रहने धरोहर संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले आफ्नो नेतृत्वमा एकीकृत, समावेशी, प्रविधियुक्त, परिणाममुखी र दिगो एनआरएनए बनाउने योजना प्रस्तुत गर्दै, बहुआयामिक दृष्टिकोण, ज्ञान, सिप र नवप्रवर्द्धनलाई प्राथमिकता दिने बताए। साथै, गतिशील, उत्तरदायी, पारदर्शी र निष्ठावान एनआरएनए निर्माण गर्न र एनआरएन र नेपाल सरकारका लागि भरपर्दो साझेदारको रूपमा संघलाई स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

सुझावित समाचार