फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्यकाे प्रत्यक्षतर्फको निर्वाचनमा पर्सामा १६ हजार ४३० मत बदर भएको छ । जिल्लाभर खसेको कुल मतको ६.३३ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । जिल्लामा अहिले पनि जनचेतनाको कमी रहेको र निर्वाचनबारे कम प्रचारप्रसारका कारण मतपत्र बढी बदर भएको मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार जिल्लाभरका चारवटै निर्वाचन क्षेत्रमा कुल दुई लाख ५९ हजार २६४ मत खसेकोमा त्यसमध्ये १६ हजार ४३० मत बदर भएको अवस्था छ । पर्सा क्षेत्र नम्बर १ मा चार हजार ८१ मत बदर भएको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ । यस्तै क्षेत्र नम्बर २ मा चखर हजार पाँच सय मत बदर भएको छ भने क्षेत्र नम्बर ३ मा चार हजार ७३० मत बदर भएको छ। क्षेत्र नम्बर ४ मा तीन हजार ११९ मत बदर भएको निर्वाचन अधिकृत नूतन झाले जानकारी दिइन् ।
गत २१ फागुनमा सम्पन्न निर्वाचनमा पर्साको क्षेत्र १ मा ६१ हजार ३०६, क्षेत्र २ मा ६५ हजार ८७८, क्षेत्र ३ मा ६७ हजार ११३ र क्षेत्र ४ मा ६४ हजार ९६७ मत खसेको थियो । यसरी हेर्दा बदर मतको संख्या हरेक क्षेत्रमा तुलनात्मक रूपमा उल्लेख्य देखिएको छ ।