प्रधानन्यायाधीश राउतले अवकाश पाउँदै, नयाँ प्रधानन्यायाधीशका लागि ६ जनाको सिफारिस
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले तीन सातापछि अवकाश पाउने भएपछि नयाँ प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस भएको छ। न्याय परिषद्ले सर्वाेच्चका ६ वरिष्ठतम् न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको हो ।
वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम न्याय परिषद्ले संवैधानिक परिषद्मा पठाइएको हो । प्रधानन्यायाधीश राउतले ६५ वर्षे उमेरहदका कारण आगामी १७ चैतदेखि अनिवार्य अवकाश पाउँदैछन् । प्रधानन्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्ति गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाईको प्रक्रियामार्फत प्रधानन्यायाधीश राष्ट्रपतिबाट नियुक्त हुनेछन् । तर, १७ चैतभित्रकै संसदीय सुनुवाई समिति गठन भएर संसदीय सुनुवाईको प्रक्रिया सम्पन्न नहुने भएकाले केही समय वरिष्ठतम् न्यायाधीश प्रधानले कामु भएर न्यायालयको नेतृत्व सम्हाल्ने सम्भावना छ । संसदीय सुनुवाई समितिले सिफारिस अस्वीकृत गर्नसक्ने कानुनी व्यवस्था पनि छ ।
मोदीको पोस्टमा बालेनको प्रतिक्रिया : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबिचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक्स पोस्टमा प्रतिक्रिया दिँदै बालेनले दुई देशबिचको सम्बन्धलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका हुन्। भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबिचको टेलिफोन सम्पर्कबारे सोमबार एक्समार्फत जानकारी दिएका थिए।
प्रदूषणले ढाक्यो काठमाडौंको आकाश [फाेटाेफिचर]
केही दिनयता काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर बढेको छ। प्रदूषणले वायु गुणस्तरलाई अस्वस्थकर बनाएको छ।
एयर क्वालिटी इन्डेक्स’ (एक्युआई)का अनुसार आज काठमाडौं विश्वका बढी प्रदूषित सहरको तेस्रो नम्बरमा छ। दिउँसो २ः५५ बजेको तथ्यांकअनुसार यहाँको वायु प्रदूषण १७६ एक्युआई छ ।
अर्थमन्त्री खनालद्वारा कूटनीतिक राहदानी फिर्ता
अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।
मंगलबार उनले उक्त राहदानीको प्रयोजन समाप्त भएको जनाउँदै प्रशासन महाशाखामार्फत फिर्ता प्रक्रिया अघि बढाएका हुन्। यस सम्बन्धमा उनले पठाएको पत्रमा अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिइएको कूटनीतिक राहदानी अब आवश्यक नरहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा बुझाइदिन अनुरोध गरिएको छ।
पत्रमा खनालले आफूलाई उपलब्ध गराइएको कूटनीतिक राहदानी अब प्रयोगमा नआउने भएकाले सम्बन्धित निकायमा फिर्ता गर्न प्रशासन महाशाखालाई निर्देशन दिएका छन्।
नेपालमा उच्च सरकारी पदाधिकारी, कूटनीतिज्ञ तथा विशेष सरकारी कामका लागि विदेश जाने व्यक्तिहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउने व्यवस्था छ। यसको प्रयोग सम्बन्धित पद वा जिम्मेवारीसँग जोडिएको हुन्छ।
भारतमा एक सिलिन्डर ग्यास खरिद गरेको २५ दिनपछि मात्रै अर्को किन्न पाइने नियम, मूल्य पनि बढ्यो
अमेरिका–इजरायल र इरान युद्धले मध्यपूर्वमा पारेको असरले भारतको घरेलु ग्यास बजार प्रभावित भएको छ। महाराष्ट्रका कतिपय ग्यास डिलरमा उपभोक्ताको लामो लाइनसमेत बढेको छ।
ग्यासमा करिब ९० प्रतिशत आयातमा निर्भर भारतले ग्यास भरिएका सिलिन्डरको अनावश्यक मौज्दात रोक्न घरेलु उपभोक्ताका लागि नयाँ नियम जारी गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार एक सिलिन्डर ग्यास खरिद गरेपछि अर्को किन्न २५ दिन कुर्नुपर्ने नयाँ नियम लगाइएको हो। यसअघि यस्तो नियम २१ दिनका लागि निर्धारण गरिएको थियो। तर, मध्यपूर्व तनावका कारण भारतीय उपभोक्ताले धेरै ग्यास सिलिन्डरको माग गर्न थालेपछि आपूर्ति सहजताका लागि सरकारले नयाँ नियम लागू गरेको हो।
त्यस्तै, इन्डियन आयल कर्पोरेसनले गत शनिबारबाट लागू हुने गरी १४ किलोग्राम तौलको घरेलु ग्यासको मूल्य ६० भारु र १९ किलोग्राम तौलको व्यावसायिक ग्यासको मूल्य ११५ भारु बढाएको छ। मूल्यवृद्धि र बिक्रीमा कोटा निर्धारण गरेर ग्यासको ‘जम्माखोरी’ रोक्ने सरकारी रणनीति रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
नदी पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा अन्तर्राष्ट्रिय र्याफ्टिङ तथा कायाकिङ महोत्सव सुरु
पालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय र्याफ्टिङ तथा कायाकिङ महोत्सव सुरु भएको छ । नदी, साहस र पर्यटनको संगम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन र्याफ्टिङ तथा कायाकिङ महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
नेपाल पर्यटन बोर्ड (एनटिबी) र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा सुरु भएको तीनदिने प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित विभिन्न देशका र्याफ्टिङ तथा कायाकिङ खेलाडीहरूले त्रिशूलीको तीव्र धारा र चञ्चल छाल पार गर्दै आफ्नो कौशल र साहस प्रस्तुत गरिरहेका छन् ।
वसन्त ऋतुसँगै चेरी फूलले सिँगारियो काठमाडौं (फोटोफिचर)
वसन्त ऋतुको आगमनसँगै काठमाडौंका विभिन्न स्थानहरू चेरी फूलले सिँगारिन थालेका छन्। सिनामंगल क्षेत्रमा चेरी फूल फुलेपछि वातावरण अझ आकर्षक बनेको छ। उपत्यकाका सडक किनारा तथा पार्कहरूमा चेरी फुलेपछि सहरको सुन्दरता थप बढेको देखिन्छ।
आगामी सरकारलाई नेपाली कांग्रेसको साथ र समर्थन रहन्छः प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी सरकारलाई साथ र समर्थन रहने बताएका छन्।
हालै सम्पन्न निर्वाचनमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसका अध्यक्ष रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहलाई बधाई र शुभकामना दिँदै उनले अब बन्ने सरकारले देश र जनताको हितका लागि काम गर्ने विश्वास लिँदै त्यस्ता हरेक काममा साथ र समर्थन रहने प्रतिबद्धता जनाएका हुन्।
उनले दूरगामी महत्त्व राख्ने मुद्दाहरूमा साझा राष्ट्रिय सहमति निर्माण गर्न पनि आह्वान गरेका छन्।
चुनावपछि काठमाडौं उपत्यका पुरानै लयमा फर्किंदै, सडकमा बढ्यो चहलपहल (तस्बिरहरु)
चुनावी माहोलका कारण केही दिनअघि तुलनात्मक रूपमा सुनसान देखिएको काठमाडौं उपत्यका अहिले विस्तारै पुरानै लयमा फर्किन थालेको छ। उपत्यकामा विस्तारै चहलपहल बढेको छ भने सडकमा सवारीसाधनहरूको चाप पनि क्रमशः बढ्न थालेको छ। यससँगै विभिन्न चोक तथा व्यस्त सडक क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीहरू सक्रिय रूपमा खटिएका छन्।
यसरी चुनावी गतिविधिपछि केही दिन शान्त बनेको काठमाडौं उपत्यका अहिले पुनः चहलपहलसहित पुरानै गतिमा फर्कन थालेको देखिएको छ।
नेप्से ३२ अंकले घट्यो, कारोबार रकम २१ अर्बमाथि
लगातार सात दिनसम्म उकालो लागेको सेयर बजारमा मंगलबार करेक्सन आएको छ। नेप्से ३२.०८ अंकले घटेर दुई हजार ८४३.३५ विन्दुमा कायम भएको हो। नेप्से मंगलबार १.११ प्रतिशतले घटेको हो। चुनावपछिको पहिलो कारोबार दिनमा सोमबार नेप्से १६२ अंकले बढेको थियो।
आज ३२९ कम्पनीको पाँच करोड २७ लाख ११ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ हजार रुपैयाँबराबरको कारोबार भएको छ। सोमबार पाँच अर्बको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ समूहमध्ये तीन समूहको मात्रै सूचक बढेको छ। म्युचल फन्ड सर्वाधिक १.३४ प्रतिशतले वृद्धि हुँदा जीवन बिमा र निर्जीवन बिमा एक प्रतिशतभन्दा कमले बढेका छन्।