जापानलाई कर्मथलो बनाएर सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय ददिबल खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
खड्काले सन २०२५–२०२७ कार्यकालका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै विदेशमा रहेका नेपालीको अधिकार संरक्षण, नेपालमा लगानी प्रवर्द्धन तथा विश्वभर फैलिएको नेपाली समुदायबिच सहकार्यलाई मजबुत बनाउने लक्ष्य लिएको बताएका छन्।
खड्का विगत डेढ दशकभन्दा बढी समयदेखि एनआरएनए अभियानसँग जोडिँदै आएका छन्। विभिन्न सामाजिक, सांस्कृतिक तथा समुदायिक कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
खड्काका अनुसार एनआरएनए विदेशमा बस्ने नेपालीहरूको साझा संस्था मात्र नभई नेपाल र विश्वभर फैलिएको नेपाली समुदायलाई जोड्ने महत्वपूर्ण माध्यम हो। त्यसैले, संस्थाको नेतृत्वले विश्वभर रहेका नेपालीहरूको साझा हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको धारणा छ।
खड्काले यसअघि सन् २०१७–२०१९ मा एनआरएनए जापानको सल्लाहकार, सन् २०१९–२०२१ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्य तथा सन् २०२१–२०२३ मा एनआरएनए एसिया–प्यासिफिक उपसंयोजकको जिम्मेवारी सम्हालिसकेका छन्।
खड्काले विदेशमा रहेका नेपालीहरूले भोग्ने कानुनी तथा प्रशासनिक समस्याहरू समाधानका लागि पहल गर्ने, प्रवासी नेपालीहरूको सिप, अनुभव र पुँजीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, दोस्रो पुस्ताका नेपाली युवालाई एनआरएनए अभियानमा जोड्ने तथा संस्थाभित्र देखिने विभाजन अन्त्य गरी पारदर्शी र एकताबद्ध संगठन निर्माण गर्ने एजेन्डा अघि सारेका छन्।
संघको १२औँ महाधिवेशन मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुँदै छ।