दक्षिण अफ्रिका पूर्वओपनर गेरी कस्टर्न श्रीलंकन क्रिकेट टोलीका मुख्य प्रशिक्षक बनेका छन् । श्रीलंकाली क्रिकेट बोर्ड (एसएलसी)ले सोमबार कस्टर्नलाई टोलीको जिम्मेवारी दिएको हो । उनले अब सनथ जयसूर्याको स्थान लिनेछन् । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर ८ मै श्रीलंका सीमित भएपछि जयसूर्याले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
जयसूर्याले विश्वकपबाट बाहिरिएपछि नै पदबाट हट्ने निर्णय गरेका थिए । एसएलसीले आगामी एकदिवसीय र टी–२० विश्वकपको मध्यनजर गरी अनुभवी प्रशिक्षकका रूपमा गेरीलाई चयन गरेको हो ।गेरीको प्रशिक्षणमै भारतले सन् २०११ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भारतलाई उपाधि दिलाएका थिए । सन् १९८३ पछि भारतले एकदिवसीय विश्वकप ट्रफी दिलाएको केही समयपछि नै गेरीले अप्रत्याशित रूपमा पदबाट राजीनामा दिए ।
प्रशिक्षणमा त्यति धेरै अनुभव नभए पनि भारतलाई विश्व च्याम्पियन बनाउँदा उनको क्षमता चुलिएको थियो । गेरीले सन् २०२४ मा पाकिस्तानलाई प्रशिक्षण दिए । बोर्ड र खेलाडीबिच असमझदारीपछि विवादमा आफू नपर्न नै उनले राजीनामा दिए । गेरीको प्रशिक्षणमा पाकिस्तानले त्यति धेरै खेल खेल्न अवसर पाएनन् । आइतबार मात्रै सकिएको १०औँ संस्करणको टी–२० विश्वकपमा गेरी एसोसिएट राष्ट्र नामिबियाका कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा कार्यभार सम्हालेका थिए । तर, विश्वकपमा नामिबियाले समूह चरणका चारै खेल गुमाएको थियो ।
टी–२० र एकदिवसीय विश्वकपसम्म
दक्षिण अफ्रिकाका पूर्वओपनर गेरी र श्रीलंकाली क्रिकेट बोर्डसँग डेढ वर्षको सम्झौता भएको छ । यस अवधिमा गेरीले आफ्नो प्रशिक्षणमा अर्को वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपका लागि श्रीलंकाली टोली निर्माण गर्नेछन् । सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामियबाले संयुक्त रूपमा आयोजना गर्ने ५० ओभरको एकदिवसीय विश्वकप प्रतियोगितासम्म गेरीले श्रीलंकालाईं प्रशिक्षण दिने बोर्डले जनाएको छ । गेरी र श्रीलंकाबिच आगामी १५ अप्रिल २०२८ सम्म रहेको छ ।
गेरीसँग आइपिएलको अनुभव
शान्त बस्न र कमै बोल्ने गेरीले आफूलाई कुनै पनि टोलीले प्रशिक्षक बन्नका लागि प्रस्ताव राख्दा नकार्दैनन् । सन् २०११ मा भारतलाई विश्वकप विजेता बनाएपछि बिसिसिआईले राम्रो प्रस्ताव राख्दा पनि आफ्नो योजना पूरा भएको जनाउँदे राजीनामा दिएका थिए । गेरीसँग विश्व प्रसिद्ध टी–२० फ्रेन्चाइज इन्डियन प्रिमियर लिगमा प्रशिक्षण गरेको अनुभव छ । उनले आइपिएलमा सन् २०२२ मा गुजरात टाइटन्सलाई प्रशिक्षण गर्दै डेब्यु संस्करणमै उपाधि दिलाएका थिए । यसअघि उनी रोयल्स च्यालेन्जर्स बेंग्लोरमा आबद्ध थिए । भारतको क्रिकेट इतिहासमा गेरीले धेरै सफलता दिलाएका थिए । उनकै प्रशिक्षणमा भारतले विश्वकप मात्र जितेन, आइसिसी वरीयतामा समेत शीर्ष स्थान प्राप्त गरेको थियो । भारतपछि उनी दक्षिण अफ्रिकाका मुख्य प्रशिक्षक बनेका थिए ।
अनुभवी ओपनर
दक्षिण अफ्रिका राम्रा ओपनरमध्ये गेरी पर्छन् । सन् १९९३ देखि २०२४ सम्म उनले दक्षिण अफ्रिकाबाट प्रतिस्पर्धा गरेका थिए । यसक्रममा उनले १०१ टेस्टमा २१ शतक तथा ३४ अर्धशतकको सहयोगमा ७२८९ रन बनाएका छन् । यसैगरी, एकदिवसीय क्रिकेटमा १८५ खेलमा १३ शतक तथा ४५ अर्धशतकको मद्दतमा ६७९८ रन जोडे । यसैगरी, पहिलो श्रेणीमा उनले २२१ खेलमा ४६ शतक र ७९ अर्धशतकमा १६ हजार ६७० रन जोडेका छन् । उनले करिअरमा कहिले पनि टी–२० आई खेलेनन् ।